रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा जारी प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगितामा आठबिसकोट र मुसिकोट नगरपालिकाले विजयी सुरुवात गरेका छन् । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आठबिसकोटले सानीभेरी गाउँपालिका ‘ए’ टिमलाई पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको आठबिसकोटले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको सानीभेरी गाउँपालिका १५ ओभरमा ९ विकेटको क्षतिमा ५८ रनमा समेटिएपछि आठबिसकोट ६० रनले विजयी भएको हो ।
यो खेलमा आठबिसकोटका कमल शाही प्लेयर अफ द म्याच घोषित भए । उनले ब्याटिङ तर्फ ३० रन बनाएका थिए भने बलिङ तर्फ ३ ओभर मेडन फाल्दै १ विकेट लिएका थिए ।
आजै भएको दोस्रो खेलमा मुसिकोट नगरपालिका ८७ रनले विजयी भयो । सानीभेरी गाउँपालिका ‘बि’ विरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको मुसिकोटले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।
१ सय ६० को लक्ष सहित जबाफी ब्याटिङमा उत्रिएको सानीभेरी ‘बि’ ७३ रनमा अल आउट भएकाे थियाे । ४७ रन जोडेका मुसिकोटका शङ्कर बुढा प्लेयर अफ द म्याच घोषित भए ।
भोली सानीभेरी गाउँपालिका ए र त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिका तथा आठबिसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा जिल्लाका ६ पालिका मध्ये बाँफिकोट गाउँपालिका बाहेक पाँच पालिकाका ६ वटा टिमले भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउँदा उप विजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजक जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ । विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । जिल्ला क्रिकेट सङ्घको आयोजना र देवयानी स्पोर्टसको सह आयोजनामा जारी प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुने छ ।