हामी शैक्षिक सुधारका लागि प्रारम्भिक छिपछिपे बहसमा छौँ । बिस्तारै भूमिका मिलाउँदै भित्रै जरैसम्म पुग्ने कि यत्तिकैमा अलमलिने भविष्यले दिशानिर्देश गर्ला । मुसिकोट नगरपालिकाको आगामी शैक्षिक गन्तव्य के हुने ? भन्ने बारेमा मिति २०८१ वैशाख ९ र १० गते आयोजित बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रममा आउने खाकाका आधारमा हुनेछ । त्यो भन्दा अघि यहाँ लेखिएका प्रारम्भिक विषयहरू व्यक्तिगत धारणा हुन । यी मुख्य विषयमा पुग्नु अघिका प्रारम्भिक भूमिकाहरू मात्र हुन् । सुधारका लागि विभिन्न कोणबाट खाका बनाउन सकिन्छ । सुधार कुन कुन क्षेत्रमा गर्ने भन्ने बारेमा हामी सबै जानकार छौँ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक लगायत शिक्षा सम्बद्ध सबै सरोकारवालाहरू शैक्षिक सुधारको बारेमा कोही पनि अनविज्ञ हुनुहुन्न । मात्रै यत्तिकै रहन दिने कि अगाडी बढाउने भन्ने विषय हो । शैक्षिक सुधार कुन कुन क्षेत्रमा गर्ने भन्ने सवाल हो । शैक्षिक सुधारको लागि मुसिकोट नगरपालिकामा विभिन्न छलफलहरू भएका छन् । विभिन्न कार्यक्रमहरूमा विभिन्न सुझावहरू पनि आएका छन् ।
देश सङ्घीयतामा गइसकेपछि शैक्षिक व्यवस्थापनको महत्त्वपूर्ण पाटो स्थानीय सरकार मातहतमा छ । मुसिकोट नगरपालिकाले शिक्षाको क्षेत्रमा गर्ने सुधार भनेको यहाँको वस्तुगत अवस्था, आफ्नो क्षमता, आर्थिक स्रोत, जनशक्तिको अवस्था, विद्यार्थी सङ्ख्या, भौगोलिक अवस्थिति, प्रचलित कानुनी मापदण्डहरुकाे आधारमा गर्ने हो । हामीले आफ्नो दायरा र क्षमताभन्दा माथि गएर सुधारको खाका कोर्न सक्दैनौ । त्यसरी कोरिएको खाका क्रियान्वयनयोग्य पनि हुँदैन । हामीले के कति गर्न सक्छौँ त्यसमा नै केन्द्रित हुनुपर्ने हुन्छ । हामीले थेग्न नसक्ने र गरिएका निर्णयहरूबाट ब्याक हुने गरी निर्णय गर्नु भनेको झन् घातक हुन्छ ।
सुधारको लागि सबभन्दा पहिले कुन कुन क्षेत्रमा सुधार गर्ने हो ? हामीले सुधार एकदम अधिकांश परिवर्तन रूपान्तरणका साथ सबै क्षेत्रमा आक्रामक नीतिका साथ गर्ने कि ? मध्यम खाले सन्तुलित अवधारणाका साथ गर्ने कि ? ठिकठिकै देश, काल, परिस्थितिलाई विचार विमर्श गर्दै बिस्तारै सुस्त धिमा गतिमा नै सुधारका मार्ग अघि बढाउने भन्ने बारेमा नेतृत्व वर्ग र निर्णयकर्ता स्पष्ट हुन जरुरी छ । सुधार गर्दा हाम्रो अधिकार क्षेत्र कहाँसम्म हो ? समय सीमा के हो ? सुधारको लागि लाग्ने स्रोत कति हो ? त्यो स्रोतको प्राप्ति स्रोत के हो ? दीर्घकालीन सुधारका खाका के हुन ? मध्यकालीन तथा अल्पकालीन खाका के हुन ? तत्काल नगरी नहुने सुधार के हो ? सुधारपछि अपेक्षित नतिजा के हो ? यसलाई निरन्तरता दिन टिकाउन वा कानुनी परीक्षण हुँदा समेत नियमित कार्यान्वयन कसरी गर्ने ? आदि कुरामा यकिन हुनुपर्ने हुन्छ ।
स्थानीय तह, स्थानीय सरकार, मुसिकोट नगरपालिकामा सुधारका लागि कमसेकम पनि मुसिकोट नगरपालिकाको राजनीतिक संरचनाहरू (नगर सभा, नगर कार्यपालिका, वडा समितिहरू) नीतिगत मार्गदर्शनका मुख्य आधार हुन् । सुधारको लागि हामीले स्थानीय स्तरमै पहलकदमी लिने हो भने नगर सभा, नगर कार्यपालिका, वडा समिति लगायत निर्वाचित जनप्रतिनिधिज्युहरु एकमत हुनुपर्ने हुन्छ । नगरपालिकाको शैक्षिक समस्या पहिचान गरी ती समस्या समाधानको लागि कुनै पनि राजनीतिक आग्रह, पूर्वाग्रह, मत, मतान्तर, आस्था, विचार, पार्टी, सङ्गठन, दलीय आबद्धता आदि राजनीतिक पृष्ठभूमिहरू छोडेर खुला दिलका साथ बृहत्तर शैक्षिक सुधारका लागि जनप्रतिनिधिमूलक निकायहरू एकजुट भएको दिन शैक्षिक सुधारको कोसे ढुङ्गा (Milestone) हुनेछ । शैक्षिक सुधारको लागि जनप्रतिनिधिमूलक निकाय एकमत भएको दिनदेखि आवश्यक कानुनी, नीतिगत, मापदण्ड, कार्यविधि लगायतका कानुनी आधारहरू स्पष्ट भई कार्यान्वयनको आधार खडा हुनेछन् । भएका कानुनहरू पनि पूर्ण कार्यान्वयनमा आउनेछ । शासन सञ्चालनको मुख्य मार्गदर्शक आधार राजनीतिक संरचना हो । राजनीतिक संरचनाले एकमत शक्तिका साथ आँट गरेको क्षणदेखि सुधारका ढोकाहरू आपसेआप खुल्दै जानेछन् । कुनै न कुनै रूपमा राजनीतिक विमतिको बीजारोपण भएको क्षणदेखि सुधारका खाकाहरू लथालिङ्ग, भताभुङ्ग, तितरबितर र क्षणभङ्गुर हुनेछन् । के हामी शैक्षिक सुधारका एजेन्डामा एकमत हुन सक्छौँ ? सबैको सहभागितामा बृहत् छलफलबाट, गरिने निर्णयलाई सुरुदेखि अन्तिमसम्म कार्यान्वयन गर्न प्रतिबद्ध हुन सक्छौँ ? यसबाट नै शैक्षिक सुधारको भविष्य निर्धारित हुनेछ । किनकि राजनीतिक तहबाट आउने कुनै पनि मात्राको असहमति थेग्न सक्ने तागत नेपालको कर्मचारीतन्त्र लगायत नेपालमा शासन सञ्चालनका कुनै पनि निकायमा छैन । यो अहिलेको तितो यथार्थ हो । हामी कर्मचारीहरू राजनीतिक क्षेत्रबाट आउने विरोधलाई सामना गर्न सक्ने सामर्थ्यमा छैनौ । झन् जनप्रतिनिधिमूलक संरचनाबाट प्रत्यक्ष मातहतमा रहेको स्थानीय तहमा हुने कुरै भएन ।
शैक्षिक सुधारको लागि जनप्रतिनिधिमूलक निकाय एकजुट भएपछि सो मातहतका सबै निकायहरू स्वतः सुधारको लागि राजी वा वाध्यकारी हुनेछन् । हुनै पर्छ । नभई सुखै छैन । राजनीतिक संरचनाले एकमतका साथ दिशानिर्देश गरेको क्षणमा हामी जागिर खानेहरूका लागि दुइटा मात्र विकल्प रहनेछन् शैक्षिक सुधारको लागि राजी हुने कि जागिर छोड्ने । सुधार सम्भव छ । सुधार राम्रैका लागि गर्ने हो । सुधार पछि पदीय जिम्मेवारी र जागिरको पनि मर्यादा वृद्धि हुने हो । जागिरमा रहेर हामीले प्रचलित कानुनले तोकेका जिम्मेवारी वहन प्रभावकारी रूपमा वहन गर्नै पर्छ । पेसागत दायित्व निर्वाह गर्ने गरी अपनाइएको पेसा, हाम्रो जागिर, हाम्रो रोजीरोटी पनि हो । हामी जागिर छोड्ने छैनौ । बरु केके सुधार गर्न सकिन्छ हामी राजी हुनेछौँ । प्रचलित कानुनको आधारमा हामीले निर्वाह गर्नुपर्ने सबै पेसागत भूमिकाहरू निर्वाह गर्न हामी अहोरात्र खट्नेछौँ । आफ्नो पेसाप्रतिको जबाफदेहिता, वफादारिता, निष्ठा, समर्पण भावका साथ पेसागत जिम्मेवारी वहन गर्न प्रतिबद्ध हुनेछौँ । हामी जागिरमा आबद्ध शिक्षक, कर्मचारीहरू सरकार मातहतकै, सरकारकै मातहतमा चल्ने पार्टपुर्जा भएकोले राजनीतिक नेतृत्वबाट विना पूर्वाग्रह स्वच्छ मनसायका साथ लिएका अग्रगामी सुधारका पहलकदमीलाई हामीले सहर्ष स्वीकार गरी अघि बढ्नेछौँ । बढ्नै पर्छ । क्रमशः…..
लेखक रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिकाका शिक्षा शाखा प्रमुख हुनुहुन्छ ।