Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ६७ जनाले ल्याए ३.६० माथिको जिपीए
मुसिकाेटकाे न्यु मुन लाईट बाेर्डिङ स्कुलका विद्यार्थी ।

रुकुम पश्चिमका ६७ जना विद्यार्थीले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएका छन् । आज प्रकाशित भएको नतिजा अनुसार ६७ जनाले राम्रो मानिएको नतिजा ल्याएका हुन् । जिल्लामा जिपीए ४ भने कसैले ल्याएनन् । यो रेन्जमा साधारण तर्फ सबैभन्दा बढी जिपीए मुसिकोट नगरपालिका ५ को न्यु मुन लाइट बोर्डिङ स्कुल रहेको छ । उक्त स्कुलका १७ जनाले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएर उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमन्ड पुनले जानकारी दिनुभयो ।

साधारण तर्फ दोस्रोमा शीतल मावि चौरजहारी रहेको छ । यस विद्यालयका १५ जना विद्यार्थीहरूले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएका पुनले बताउनुभयो । तर साधारण र प्राविधिक धार तर्फ गरेर भने शीतल मावि पहिलाे नम्बरमा छ । दुवै तर्फ गरेर शीतल माविका ३४ जना विद्यार्थीले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएका छन् ।

तेस्रोमा त्रिभुवन जनता मावि खलङ्गा र भ्याली पब्लिक स्कुल चौरजहारीका समान ८ जना विद्यार्थीले यो ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएका छन् । हिमालय मावि खोलागाउँका ४ जना, विजयश्वरी बोर्डिङ स्कुल मुसिकोटका ३ जना, जनजागृति मावि साँख र जनकल्याण मावि काँसपोखरीका २/२ जना विद्यार्थीहरूले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएको प्राविधिक सहायक पुनले बताउनुभयो ।

उहाँका अनुसार वीरेन्द्र मावि बाँफिकोट, बाल कल्याण मावि झुल्खेत, अन्धनाशक मावि खुम्चेरी, स्यार्पूताल मावि स्यार्पूदह, युवा जनजागरण मावि झुल्नेटा, सहिद स्मृति नमुना मावि राडी र सिस्ने एकेडेमी सोलावाङका १/१ जना विद्यार्थीहरू पनि ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएर उत्तीर्ण भएका छन् । 

रुकुम पश्चिमबाट ६४.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाबाट साधारण र प्राविधिक धार तर्फ गरी कुल ३ हजार ५ सय ६६ जनाले परीक्षा फारम भरका थिए । जसमध्ये २ हजार २ सय ९० जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ६४.२१ प्रतिशत हो । १ हजार २ सय ६१ जना भने अनुत्तीर्ण अर्थात् नन ग्रेड भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update