रुकुम पश्चिमका २ जना कृषक र एउटा कृषक समूह मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । उत्कृष्ट कृषि पेसा गर्ने कृषकलाई पुरस्कृत गर्ने कर्णाली प्रदेशको कार्यक्रम अनुसार जिल्लाका विभिन्न ठाउँका कृषक तथा कृषक समूह पुरस्कृत भएका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ को सोलावाङमा आयोजित कार्यक्रम मार्फत प्रथम, द्धितिय र तृतीय हुने २ जना कृषक र एउटा कृषक समूहलाई पुरस्कृत गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।
प्रथम हुने बाँफिकोट गाउँपालिका १ का मौरी पालक कृषक महेन्द्र मल्ल, द्धितिय हुने आठबिसकोट नगरपालिका २ का किवी खेती कृषक कृष्णबहादुर ऐरी र तृतीय हुने चौरजहारी नगरपालिका ३ को ताजा तरकारी तथा बिउ उत्पादन कृषक समूहलाई पुरस्कृत गरिएको हो । प्रथमले ४० हजार, द्धितियले ३० हजार र तृतीयले २० हजार नगद र प्रमाण पत्र प्राप्त गरेको केसीले बताउनुभयो । उहाँका अनुसार पुरस्कारका लागि कृषि विकास कार्यालयले प्रस्ताव आह्वान गरेको थियो । जसअनुसार प्रस्ताव हालेकाहरूबाट प्रथम, द्धितिय र तृतीय छनोट गरी पुरस्कृत गरिएको हो ।