Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीको समृद्धिलाई ध्यान दिएर बजेट बनेको छ: मन्त्री केसी 
पत्रकार सम्मेलनमा बाेल्दै आर्थिक मामिला तथा याेजना मन्त्री महेन्द्र केसी ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशको समृद्धिलाई ध्यानमा राखेर बजेट निर्माण भएको बताउनुभएको छ । आज रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले समग्र कर्णालीको समृद्धिलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको बताउनुभयो । 

कर्णालीको पर्यटन, कृषि, पशुपालन, सामाजिक न्याय लगायतका सबै क्षेत्रलाई ध्यानमा राखेर बजेट बनाइएको उहाँको भनाई छ । आयात र निर्यातको सन्तुलन मिलाएर कर्णालीलाई श्रम बजारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि पनि बजेटले धेरै बोलेको उहाँले बताउनुभयो । 

यहाँको कृषि, पर्यटन, जलविद्युत लगायतबाट कर्णालीको समृद्धि हासिल गर्ने सकिनेमा उहाँको जोड छ । देशमा केही छैन भन्ने गलत सोचाइलाई चिर्न र युवाहरूले नै देशको डिजाइन गरी ह्यान्डिल गर्नसक्ने बनाउन राम्रो शिक्षा दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

अर्को प्रसङ्गमा उहाँले माओवादी केन्द्र उचित समय आएपछि कर्णाली सरकारबाट बाहिरिने स्पष्ट पार्नुभयो । ‘सरकारमा सहभागी हुने र सरकारमा कहिलेसम्म बस्ने भन्ने पार्टीको कुरा हो, हामी पार्टीले सरकारमा रहने भन्ने दिनसम्म सरकारमा रहन्छौँ, उचित समय आएपछि यसबारेमा पार्टीले निर्णय गर्छ मन्त्री केसीले पत्रकार सम्मेलनमा भन्नुभयो ।’ 

साथै उहाँले केन्द्रीय सरकारमा फेरबदल हुने बित्तिकै प्रदेशमा पनि सोही हुनुपर्ने अभ्यास गलत रहेको बताउनुभयो । प्रदेशलाई स्वायत्त अधिकार दिनुपर्ने बताउँदै उहाँले केन्द्रीय गठबन्धनमा फेरबदल हुने बित्तिकै प्रदेशमा पनि त्यही हुनुपर्छ भन्ने सही नभएको बताउनुभयो । 

रुकुम पश्चिम प्रदेश सभा क बाट निर्वाचित मन्त्री केसी सोमबार रातीको बाढीले आठबिसकोट नगरपालिकामा भएको क्षतिको अवस्था बुझ्न र पीडित परिवारसँग भेट गर्न मङ्गलवार जिल्ला आउनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update