Kakhara सबैको खबर सम्पूर्ण खबर
विपत् व्यवस्थापनका लागि सबै संयन्त्र प्रयोग गर्नुहोस्: मन्त्री केसी 
जिल्ला विपत् व्यवस्थापन समितिकाे बैठकमा बाेल्दै आर्थिक मामिला तथा याेजना मन्त्री महेन्द्र केसी (बिचमा)

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले विपत् व्यवस्थापनका लागि जिल्लाका सबै संयन्त्रको प्रयोग गर्न अनुरोध गर्नुभएको छ । बुधवार रुकुम पश्चिमको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री केसीले मनसुनजन्य विपत् व्यवस्थापनका लागि तयारी अवस्थामा बस्न अनुरोध गर्नुभएको हो । उहाँ सोमबार राती रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ मा बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न र पीडित परिवारसँग भेट गर्न जिल्ला आउनुभएको हो । यस अवसरमा उहाँ बुधवार जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुनुभएको थियो ।

विपत् प्रतिकार्यका लागि स्थानीय तह र जिल्ला विपत् व्यवस्थापन समितिको तयारी सम्बन्धीको रिपोर्टिङ सुनेपछि मन्त्री केसीले आगामी दिनमा हुनसक्ने सम्भावित विपत् का घटनाप्रति सजग रहन जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । पूर्व तयारीले घटना हुन नदिनुका साथै घटना भएमा उद्धार, उपचार तथा राहतमा ठुलो टेवा पुग्ने भएकोले राम्रो पूर्व तयारीका साथ अघि बढ्न उहाँको सुझाव छ ।

पीडितले तत्काल उद्धार, उपचार, राहत र बासको आस गर्ने भएकोले सोही अनुसार जिल्लास्थित संयन्त्रले चनाखो भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भूकम्पका कारण जिल्लाका धेरै बस्तीहरू जोखिममा रहेकोले यस्ता ठाउँहरूको पहिचान गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने समेत उहाँले बताउनुभयो । साथै उहाँले बस्ती स्थानान्तरणको विषय सजिलो नभएको भन्दै पीडितको मनोभावनालाई कदर गर्दै काम गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लाको आठबिसकोट नगरपालिकामा घटेको घटनाका बारेमा जानकारी गराउनुभएको थियो । तीन जानको मृत्यु भएको, एक जना बेपत्ता रहेको र घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको बारेमा उहाँले जानकारी गराउनुभएको थियो । नयाँ आर्थिक वर्ष भर्खरै सुरु भएकोले मृतकका परिवारलाई नियमानुसार २ लाख रुपैयाँ तत्कालै उपलब्ध गराउन समस्या रहेको उहाँले बताउनुभयो । विस्थापित परिवारलाई १० नम्बर वडाको कर्णाली वेवरेज र काष्ठ उद्योगमा राखिएको उहाँले जानकारी दिनुभयो । तत्कालको व्यवस्थापनका लागि खाद्य तथा गैर खाद्य राहतका सामग्री उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो । 

Jilla-Bipat-1721214533.jpg
आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले नगरपालिकामा धेरै बस्तीहरू खाली गरेर सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । भूकम्पले धुजा धुजा बनेको जमिन वर्षाले सहजै बग्ने समस्याले गाउँ बस्ती नै जोखिममा रहेकोले बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताउनुभयो । समयमै यस्तो गर्न नसकिएमा थप ठुलो जोखिम निम्तने उहाँको चिन्ता छ । यसअघि सुरक्षित मानिएका ठाउँहरू पनि जोखिममा रहेको उहाँको भनाई छ ।

बैठकमा अन्य स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले पनि आफ्नो स्थानीय तहमा विपत् जोखिमको अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकमा सहभागी राजनीतिक दल तथा अन्य सरोकारवालाले विपत् प्रतिकार्यका लागि सुझाव दिएका थिए । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update