Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा आँखा सम्बन्धी उपचार लिनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा बर्सेनि आँखा उपचार सेवा लिनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । बितेको आर्थिक वर्षमा साढे ६ हजारले सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा रुकुम आँखा सर्किजल सेन्टर सल्लेबाट ६ हजार ५ सय ५१ जनाले सेवा लिएका छन् । उनीहरूले आँखा जाँच, चस्मा जाँच, निःशुल्क तथा सशुल्क आँखा अप्रेसन लगायतको सेवा लिएको रुकुम आँखा सर्किजल सेन्टरका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्षमा सबैभन्दा बढी तीन हजार ६ सय ४० जनाले चस्माको जाँच गराएका छन् । तीन हजार छ सय ३२ जनाले समुदाय स्तरीय निःशुल्क आँखा जाँच सेवा लिएकामा एक हजार पाँच सय ९२ जनामा दृष्टि दोषको समस्या देखिएको छ । कम्प्युटर तथा मोबाइल जस्ता विद्युतीय सामग्रीको बढी प्रयोग र आँखा सुरक्षामा ध्यान नदिँदा जिल्लामा दृष्टि दोषको समस्या बढ्दै गएको प्रमुख केसीको भनाई छ । त्यस्तै बितेको वर्ष दुई सय २६ जनाले निःशुल्क र एक सय ९५ जनाले सशुल्क आँखा अप्रेसन सेवा लिएका छन् । रुकुम आँखा सर्किजल सेन्टरमा बितेको आर्थिक वर्ष देखि कम्प्युटरबाट समेत आँखाको अप्रेसन सेवा सुरु भएको छ ।

२ पटक कम्प्युटरबाट आँखाको अप्रेसन भएकामा ५६ जनाले सेवा लिएको केसीले बताउनुभयो । साथै कानको सेवा लिनेको सङ्ख्या समेत धेरै छ । एक वर्षमा १ हजार दुई सय ९२ जनाले कानको सेवा लिएको बताइएको छ । सुरुमा आँखा उपचार केन्द्रका रूपमा सञ्चालनमा आएकामा बितेको वर्ष देखि भने रुकुम आँखा सर्किजल सेन्टरका रूपमा रूपान्तरण भएको छ । स्थापना भएदेखि हालसम्म ६० हजार बढीले सेवा लिएको रुकुम आँखा सर्किजल सेन्टरका प्रमुख केसीले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा बढी मोतीबिन्दुको समस्या भएका बिरामीको अप्रेसन हुने गरेको छ । कम्प्युटर विधिबाट समेत अप्रेसन सेवा सुरु भएपछि भने कम जोखिम तथा कम झन्झट हुने हुँदा यो विधिबाट अप्रेसन सेवा लिनेहरूको सङ्ख्या बढ्न थालेको आँखा सर्किजल सेन्टरले जनाएको छ । सेन्टर हाल जिल्ला जिल्ला अस्पताल परिसरबाट सञ्चालनमा छ ।   

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update