Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा दृष्टि दोषको समस्या बढ्दै गएको देखिएको छ । रुकुम आँखा सर्जिकल सेन्टर सल्लेको विगत ४ वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा बर्सेनि आँखाका समस्या भएकाहरूको सङ्ख्या उकालो चढिरहेको छ । त्यसमा दृष्टि दोषको समस्या धेरै देखिएको छ । विगत ४ वर्षमा जिल्लामा २३ हजार ९ सय १० जनाले आँखा जाँच गराएकामा ४ हजार तीन सय २६ जनामा दृष्टि दोषको समस्या देखिएको छ । यो कुल आँखा जाँच गराउनेहरूको १८ प्रतिशत हो । दृष्टि दोषको समस्या बर्सेनि बढ्दो क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा रुकुम पश्चिममा ६ सय १८ जनामा दृष्टि दोषको समस्या रहेको थियो । उक्त वर्ष कुल पाँच हजार एक सय ८५ जनाले आँखा जाँच गराएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा कुल ६ हजार जनाले आँखाको जाँच गराए भने ति मध्ये नौ सय ११ जनामा दृष्टि दोषको समस्या देखिएको रुकुम आँखा सर्जिकल सेन्टरका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० मा आँखा जाँच गर्ने र दृष्टि दोषको समस्या भएका दुवैको सङ्ख्यामा वृद्धि भयो । उक्त वर्ष ६ हजार १ सय ७४ जनाले आँखा जाँच गरेकामा एक हजार दुई सय पाँच जनामा दृष्टि दोष देखिएको केसीको भनाई छ ।

बितेको आर्थिक वर्ष २०८०/०८० मा एक हजार पाँच सय ९२ जनामा दृष्टि दोषको समस्या देखिएको छ । यो वर्ष आँखा जाँच गराउनेहरूको कुल सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएर ६ हजार पाँच सय ५१ पुगेको केसीले बताउनुभयो । जिल्लामा बर्सेनि आँखा सम्बन्धी समस्या लिएर सर्जिकल सेन्टरमा आउनेहरूको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ भने त्यसमा दृष्टि दोषको समस्या भएका व्यक्तिको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

मोबाइल लगायतका विद्युतीय सामग्रीको बढी प्रयोग, आँखाको हेरचाह नगर्नु, सरसफाइमा ध्यान नदिनु, आँखाको सुरक्षामा ख्याल नगर्नु, खानपानमा ध्यान नदिनु लगायतका विभिन्न कारणहरूले आँखा सम्बन्धीको समस्या बढ्दै गइरहेको उहाँ बताउनुहुन्छ । जिल्लामा पछिल्ला वर्षहरूमा आँखा सम्बन्धीका समस्याहरू व्यापक बन्दै गएका छन् । अप्रेसन गर्नुपर्ने अवस्थामा पनि वृद्धि भइरहेको छ । जिल्लामा विशेष गरी मोतीबिन्दुको अप्रेसन बढी हुने गरेको छ । बितेको वर्ष मात्र ४ सय २१ जनाको आँखाको अप्रेसन गरिएको छ । यसमा ५६ जनाको कम्प्युटर विधिबाट अप्रेसन गरिएको थियो । जिल्लामा कम्प्युटर विधिबाट समेत अप्रेसन हुने गरेको छ ।

रुकुम आँखा सर्जिकल सेन्टरले पालिका तथा विभिन्न संघ संस्थाहरूको साझेदारीमा ठाउँ ठाउँमा आँखा निःशुल्क जाँच शिविरहरू सञ्चालन गर्ने र त्यसबाट पहिचान भएका बिरामीहरूलाई सर्जिकल सेन्टरमा बोलाएर थप उपचार तथा अप्रेसनसम्मका सेवाहरू प्रवाह गरिरहेको छ । त्यस्तै विद्यालय स्तरमा समेत आँखा जाँच कार्यक्रमलाई केन्द्रित गरिएको रुकुम आँखा सर्जिकल सेन्टरका प्रमुख केसीले जानकारी दिनुभयो । सर्जिकल सेन्टर जिल्ला अस्पतालको परिसर सल्लेबाट सञ्चालनमा छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update