रोल्पाका मनकुमार राेका मगरले स्विट्जरल्याण्डमा आयोजित ट्रेल रेसको उपाधि जितेका छन् । स्विट्जरल्याण्डमा विभिन्न प्रतियोगितामा भाग लिई दोस्रो सम्म भएका मनकुमारले अन्ततः प्रथम हुँदै उपाधि जित्न सफल भए । ६.३ किलोमिटर दुरीको ग्रिम्पेटे डेस बेड्जुइस ट्रेल रेसमा विश्वका विभिन्न देशका धावकहरूलाई पछि पार्दै थवाङ गाउँपालिकाका मनकुमारले उपाधि जितेका हुन् । उनले निर्धारित दुरी ४१ मिनेटमा पुरा गरे । दोस्रो भएका स्विट्जल्याण्डका धावक उनीभन्दा २५ सेकेन्ड पछि परे ।
रेसमा विश्वका विभिन्न देशका २ सय ८० जना धावकहरूको सहभागिता रहेको थियो । विभिन्न ट्रेल रेसमा भाग लिन मनकुमार विगत ३ महिना देखि स्विट्जरल्याण्डमा रहेका छन् । उनले यो सँगै ४ वटा रेसमा भाग लिइसक्नुभएको छ । सुरुको रेसमा सातौं भएका मनकुमार दोस्रो प्रतियोगितामा तेस्रो भएका थिए । केही दिन अघि मात्र भएको रेसमा उनी दोस्रो भएका थिए । तर अन्ततः मनकुमारले उपाधि समेत उचाल्न सफल भएका छन् । यो सँगै आफ्नो सपना पुरा भएको उनले बताए ।
‘मैले यो दिनका लागि धेरै नै सङ्घर्ष गरेको छु, मेरो खेल दिन प्रतिनिधि सुधार हुँदै गइरहेको छ, अन्ततः मैले विदेशी भूमिमा आफ्नो सपना पुरा गरेको छु, यो मेरा लागि अविस्मरणीय पल हो, उनले भने ।’ साथै उनले आफ्नो जीत देशका लागि समेत गौरवपूर्ण विषय रहेको बताए । आफूले केही हदसम्म भए पनि विदेशी भूमिमा नेपालको झन्डा फहराएर देशलाई चिनाउन सफल भएको बताए । आफ्नो यात्रा यति मै नरोकिने उनले स्पस्ट पारे । ‘यो मेरो सुरुवात हो, यसको अन्त्य धेरै पर छ, म अझै ठुलो मुकाममा पुग्न चाहन्छु, उनले भने ।’ मनकुमारलाई ट्रासिस यांकी रनिङ क्लब अफ स्विट्जरल्याण्डले विभिन्न प्रतियोगिता खेलाउन स्विट्जरल्याण्ड लगेको हो ।