Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिजमाविका शिक्षक कर्मचारी दसैँका बेला रित्तो हात !

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको त्रिभुवन जनता माविका शिक्षक कर्मचारीहरू यो वर्षको दसैँमा रित्तो हात भएका छन् । पछिल्लो त्रैमासिकको तलब र चाडपर्व भत्ता पाउन नसक्दा शिक्षक कर्मचारीहरू रित्तो हात भएका हुन् । अब उनीहरूले दसैँमा तलब भत्ता नपाउने निश्चित भएको छ । विद्यालयको सरकारी खाता मुसिकोट नगरपालिकाले रोक्का गरिदिएपछि विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू तलब भत्ताबाट वञ्चित भएका हुन् । शिक्षा नियमावली अनुसार विद्यालयको खाता सञ्चालन नभएको भन्दै नियमावली अनुसार खाता सञ्चालन नहुँदासम्म खाता रोक्का गर्ने नगर शिक्षा समितिको निर्णय अनुसार नगरपालिकाले असोज ७ गतेदेखि विद्यालयको खाता रोक्का गरेको हो ।

विद्यालयको नाममा नेपाल बैङ्कमा रहेको खाता रोक्काका लागि मुसिकोट नगरपालिकाले बैङ्कलाई चिठी लखेको थियो । जसअनुसार शिक्षक कर्मचारीको तलब भत्ताका लागि विद्यालयको खातामा जम्मा भएको ५३ लाख ३ हजार ६ सय ४ रुपैयाँ रोक्का भएको छ । मुसिकोट नगरपालिकाको गैर जिम्मेवार कदमका कारण शिक्षक कर्मचारीले दसैँमा पनि तलब भत्ता पाउन नसकेको विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले बताउनुभयो । तलब भत्ताका लागि शिक्षक कर्मचारी नगरपालिकामै गएको र आफूले तथा विद्यालय व्यवस्थापन समितिले पनि शिक्षक कर्मचारीलाई तलब खुवाउनका लागि पहल गरे पनि नगरपालिका सकारात्मक नबनेको उहाँको भनाई छ । नगरपालिका नकारात्मक बनेका कारण सङ्घीय सरकारबाट आएको रकम खातामा थन्किएको र खाता रोक्का भएका कारण चाडबाडमा शिक्षक कर्मचारी रित्तो हात भएको प्रअ केसीको भनाई छ ।

उहाँका अनुसार विद्यालयका २१ जना शिक्षक, १ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोग गरी २३ जना शिक्षक कर्मचारीहरूले तलब पाउन नसकेका हुन् । उता मुसिकोट नगर प्रमुख महेन्द्र केसी भने विद्यालय शिक्षा नियमावली अनुसार नचल्दासम्म खाता फुकुवा नहुने बताउनुहुन्छ । शिक्षा नियमावलीमा प्रअ र लेखापालको हस्ताक्षरमा विद्यालयको खाता सञ्चालन हुने व्यवस्था हुँदा हुँदा त्रिजमाविमा प्रअ र एक जना शिक्षकको हस्ताक्षरमा खाता सञ्चालन भइरहेको र यसमा नियमानुसार नहुँदासम्म नगरपालिकाले खाता फुकुवा नगर्ने तथा प्रअलाई थप कारबाही हुने समेत नगर प्रमुख केसीले चेतावनी दिनुभयो । नगरपालिकाले पटक पटक दिएका निर्देशन समेत विद्यालयले पालना नगरेकोले बाध्य भएर खाता रोक्काको निर्णयमा पुगेको उहाँको भनाई छ ।

Tjss-1728558976.jpg
नगरपालिकाले यसो भने पनि खाता रोक्काको मुख्य कारण भने तलब भत्ताको माग गर्दै विद्यालयका ५ जना कर्मचारीले थालेको आन्दोलन हो । करिब १ वर्ष देखि तलब भत्ता नपाएको भन्दै ५ जना कर्मचारी आन्दोलनमा छन् । उनीहरूले प्रअ केसीको कार्यकक्षमा लामो समय देखि तालाबन्दी गरिरहेका छन् । बिचमा एक पटक ताला खोले पनि सहमति अनुसार तलब भत्ता नभएको भन्दै पुनः तालाबन्दी गरेका छन् । कर्मचारीहरू जयराम थापा, ठकबहादुर बुढाथाेकी, दुर्गबहादुर खड्का, रमा शाह र डम्बरबहादुर महत आन्दोलित छन् । आर्थिक स्रोत नभएको र नियम विपरीत भर्ना गरिएको भन्दै विद्यालयले २०८० कार्तिक १४ गते प्रशासनिक अधिकृत जयराम थापालाई जिम्मेवारी मुक्त गरेको थियो भने लेखापाल ठकबहादुर बुढाथोकीलाई अवकाश दिएको थियो । साथै अन्य कर्मचारीलाई स्थायीबाट करारमा झारेको थियो ।

यसका विरुद्धमा उनीहरू उच्च अदालत सुर्खेत गएका थिए । अदालतले उनीहरूलाई यथास्थितिमा काममै राख्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि उक्त कर्मचारीहरू विद्यालयको काममा फर्किएका थिए । तर उक्त उनीहरूले हालसम्म तलब पाउन सकेका छैनन् । तलब भत्ताको माग गरेर ५ जना कर्मचारी आन्दोलित भएको र उनीहरूलाई तलब भत्ता खुवाउन विद्यालयसँग कुनै स्रोत नभएको भन्दै विद्यालयले जवाफ दिइरहेको छ । यसैका कारण नगरपालिकाले अन्य शिक्षक कर्मचारीहरूले तलब भत्ता खाँदै आएको खाता समेत रोक्का गरिदिएको हो । तलब पाए सबैले पाउनुपर्छ नपाए कसैले पाउँदैनन् भन्ने मनस्थितिमा नगरपालिका पुगेको नगरपालिका स्रोत बताउँछ । यसै कारण विद्यालयको खाता रोक्का गरेको नगरपालिको स्रोतको भनाई छ ।

सम्बन्धित समाचार

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update