Kakhara सबैको खबर सम्पूर्ण खबर
खिमकलाका माइती पक्ष आन्दोलित 
न्यायकाे माग गर्दै वडा कार्यालय पुगेका खिमकलाका माइती पक्ष ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० की खिमकला ओलीका माइती पक्ष आन्दोलित भएका छन् । खिमकलाको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका उनका श्रीमान दिपक खड्का साधारण तारेखमा रिहा भएपछि न्यायको माग गर्दै खिमकलाका माइती पक्ष आन्दोलनमा उत्रिएका हुन्

खिमकलाले आत्महत्या गरेको नभई उनका श्रीमानले हत्या गरेको आरोप माइती पक्षले लगाइरहेका छन् । सानीभेरी १० घन्ठानामा विवाह गरेकी १८ वर्षिया खिमकला गत पौष ९ गते राती घर नजिकैको गहुँबारीमा मृत फेला परेकी थिइन् । श्रीमान दिपकले श्रीमतीले झुण्डिएर आत्महत्या गरेको बयान दिएपछि उनलाई प्रहरीले आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ गरेको थियो । 

उनलाई रुकुम अदालतले गत पौष २९ गते साधारण तारेकमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । आफुहरुले घटनाको अनुसन्धान सकाएर मुद्दा अदालतमा बुझाएको र अदालतले दिपकलाई साधारण तारेकमा छाड्न आदेश दिएको श्रेष्ठको भनाई छ । मुद्दाको फैसला भने नभएको उहाँको भनाई छ । 

माइती पक्षले भने घटनाको अनुसन्धानमा प्रहरीले असहयोग गरेको आरोप लगाएका छन् । कतव्र्य ज्यानको मुद्धामा किटानी जाहेरी दिँदा पनि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्धा चलाएको खिमकलाका दाइ कबिराम ओलीको दाबी छ । 

यसअघि पनि श्रीमान दिपकबाट खिमकला माथि पटक पटक कुटपीट भएको, घटना भएको एकदिन अघि मात्र पनि खिमकला श्रीमानबाट कुटपीटमा परेको भन्दै माइतीमा आएको, माइती पक्षले सम्झाएर पठाएको, शव गहुँबारीमा घोप्टो अवस्थामा फेला परेका, शरिरका विभिन्न अंगमा घाउँ रहेको र घटनास्थलको अवस्था लगायतलाई हेर्दा आत्महत्या नभई हत्या भएको कबिरामले दाबी गर्नुभयो । 

दिपक रिहा भएपछि खिमकलाका माइती पक्षले सोमबार देखि आन्दोलन सुरु गरेका छन् । उनिहरुले घटनाको सत्य तथ्य छानबिन गरी दोषिलाई कडा कारबाहीको माग गर्दै सोमबार वडा कार्यालयमा धर्ना दिएका थिए । पीडित पक्षले आज सानीभेरी गाउँपालिकामा धर्ना दिँदै छन् भने आजै जिल्ला प्रशासन कार्यालयमा समेत पुग्ने कबिरामले बताउनुभयो । न्याय नपाउँदासम्म आन्दोलन नरोकिने पीडित पक्षको भनाई छ ।

प्रहरीले भने कानून वमोजिम अनुसन्धान गरी मुद्दा अदालतलाई बुझाएको बताउँदै माइती पक्षले आरोप लगायजस्तो नभएको बताएको छ ।


 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update