रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगाको त्रिभुवन जनता माविको निमित्त प्रध्यानाध्यापक नियुक्ति सम्बन्धमा परेको रिट उच्च अदालत सुर्खेतले खारेज गरिदिएको छ । उच्च अदालतका न्यायाधीश द्धय माधवप्रसाद पोख्रेल र पुनमसिंह चन्दको संयुक्त इजलासले बुधबार रिट खारेज गरेको हो । निवर्तमान प्रध्यानाध्यापक हरिप्रसाद खनालले निमित्त प्रअ नियुक्तिको निर्णय खारेजको माग सहित मुसिकोट नगरकार्यपालिकालाई विपक्षी बनाई गत बैशाख ७ गते उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको थियो ।
उक्त रिटमा वैशाख ८ गते सुनुवाई गर्दै अदालतले निमित्त प्रअ तोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो भने बैशाख २० गतेसम्म दुवै पक्षलाई लिखित जवाफ सहित अदालतमा उपस्थित हुन भनेको थियो । २० गते नै सुनुवाई गर्दै अदालतले उक्त रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको थियो । बुधबार भने अदालतले उक्त रिट नै खारेज गरिदिएको हो । यो संगै त्रिभुवन जनता माविमा प्रअ विवाद साम्य हुने देखिएको छ ।
प्रअ हरिप्रसाद खनालको ५ वर्षे कार्यकाल सकिएको र आर्थिक अनियमिततामा मुछिएको भन्दै विद्यालय व्यवस्थापन समितिले बहुमतका आधारमा चैत्र २८ गते शिक्षक गोपिराम केसीलाई निमित्त प्र.अ. तोक्नका लागि मुसिकोट नगरपालिकामा सिफारिस गरिपठाएको थियो । नगर प्रमुख महेन्द्र केसीको निर्देशन तथा तोक आदेशमा शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षक केसीलाई निमित्त प्रअको जिम्मेवारी तोकेको थियो । यसका बिरुद्ध खनाल उच्च अदालत जानुभएको थियो ।
आफुलाई प्रअबाट हटाउनकै निम्ति बदनियतपूर्ण रुपमा आफुमाथि आर्थिक अनियमितताको आरोप लगाइएको भन्दै खनालले प्रतिवाद गर्दै आउनुभएको छ ।