इन्जिनियरमाथि कुटपिट भएको भन्दै बुधबार देखि ठप्प भएको सानीभेरी गाउँपालिकाको सेवा आजदेखि सुचारु हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले सबै कर्मचारीलाई आजदेखि काममा फर्किन आग्रह गर्नुभएको छ ।
बुधबार कार्यालय जाँदै गर्दा इन्जिनियर रेशम लम्सालमाथि सिम्ली बजारमा कुटपिट भएको भन्दै सुरक्षा र दोषिलाई कारवाहीको माग गर्दै कर्मचारीहरुले गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प पारेका थिए ।
कुटपिटको घटनाका कारण सेवा अवरुद्ध भएकोमा स्थानीय प्रशासनको उपस्थितिमा प्रशासनिक दण्ड जरिवाना सहित दुवै पक्षको सहमतिमा मिलापत्र भई आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता गरेकोले आजदेखि सेवा सुचारु हुन लागेको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले बताउनुभयो ।
सानीभेरी गाउँपालिका वडा नम्बर ३ का गोविन्द ओलीले इन्जिनियर लम्सालमाथि कुटपिट गर्नुभएको थियो । इन्जिनियरले ओली अध्यक्ष रहेको योजनाको कम मुल्यांकन भएको भन्दै आफुमाथि कुटपिट भएको बताउदै आउनुभएको छ भने ओलीले सिम्लीमा निर्माण भइरहेको कवर्डहलका विषयमा इन्जिनियरले निर्माण समितिमा आफुले नभनेको कुरा हालिदिएपछि विवाद भएको बताइरहनुभएको छ ।