Kakhara सबैको खबर सम्पूर्ण खबर
अख्तियारको छानबिनमा त्रिजमावि

रुकुम पश्चिमको जेठो विद्यालय त्रिभुवन जनता मावि खलङ्गा अख्तियारको छानबिनमा परेको छ । विद्यालयसँग सम्बन्धित विभिन्न उजुरी अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतमा परेपछि विद्यालय छानबिनको दायरामा आएको हो । विद्यालयको जग्गा बिक्री, निजी स्रोतमा राखिएका शिक्षक कर्मचारी स्थायी गरिएको, विद्यालयले सञ्चालन गरेको धार्मिक महायज्ञ र विद्यालयले गरेको भूपू विद्यार्थी सम्मेलनमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले छानबिन गरिरहेको छ । 

उजुरी परेका विषयमा अख्तियारले विद्यालयको जवाफ मागेको छ । अख्तियारले विद्यालयको निजी स्रोतमा तलबभत्ता खाने शिक्षकहरूलाई के कानुनी आधारमा स्थायी गरिएको हो भनेर जवाफ मागेको छ । विद्यालयले सञ्चालन गरेको धार्मिक महायज्ञ पनि अख्तियारको छानबिनमा परेको छ । विद्यालयले २०७१ साल पुस २६ गतेदेखि माघ २ गतेसम्म सञ्चालन गरेको धार्मिक महायज्ञको आम्दानी र सो आम्दानीको खर्च खुल्ने स्पष्ट कागजात पेस गर्न भनिएको छ । उक्त महोत्सवका दान पेटिका हराएको भनेर विद्यालयले जानकारी गराएको थियो । यसमा धेरैले शङ्का व्यक्त गरेका थिए । 

महोत्सव सञ्चालन भएको ९ वर्षपछि धार्मिक महायज्ञको आर्थिक पक्ष पुनः सतहमा आएको छ । त्यस्तै अख्तियारले विद्यालयको स्वामित्वमा रहेको बिक्री भएको भनिएको जग्गाको विषयमा पनि सोधेको छ । अख्तियारले विद्यालयको स्वामित्वमा रहेको कति जग्गा के प्रयोजनका लागि कुन कुन व्यक्ति र संस्थालाई बिक्री गरिएको हो विगत देखि हालसम्मको विवरण र प्रमाणित कागजात मागेको छ ।विद्यालयले २०६५ सालमा आयोजना गरेको भूपू विद्यार्थी सम्मेलन पनि छानबिनको दायरमा आएको छ । अख्तियारले उक्त सम्मेलन गर्दा कति खर्च भएको हो र उक्त खर्च कुन स्रोतबाट बेहाेरिएकाे हो भनेर सोधेको छ । अख्तियारले सोधेका विषयमा लेखि पठाइसकेको विद्यालय स्रोतले जनाएको छ । 

Akhtiyar1697079354.jpg
अख्तियारले विद्यालयलाई लेखेकाे पत्र ।

जिल्लाको अग्रण विद्यालय त्रिजमावि राम्रो पढाई र नतिजाका कारण चिनिने गरेकामा आन्तरिक किचलोमा फसेको छ । पछिल्लो पटक विद्यालयमा देखिएको झमेला र विद्यालय सम्बन्धी धेरै मुद्दा अख्तियारमा परेपछि विद्यालयको विश्वसनीयता घट्दै गएको छ । विद्यालय अहिले अस्तव्यस्त अवस्थामा रहेको छ । विद्यालय अहिलेको अवस्थामा आउनुका पछाडि वर्षौँ देखिका गतिविधिहरू कारक तत्त्वका रूपमा रहेको बताइन्छ ।      

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update