Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा घटना: कुकुर सहितकाे प्रहरी टोलीद्वारा अनुसन्धान सुरु (भिडिओ सहित)
कुकुर सहितकाे टाेली ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको सत्कार हाेटलमा महिला मृत फेला परेको घटनाको नेपाल प्रहरीको तालिमप्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट मङ्गलवार साँझ तालिम प्राप्त कुकुर सहितको टोली पुगेसँगै उक्त टोलीले अनुसन्धान सुरु गरेको हो । मुसिकोट नगरपालिका वडा नम्बर १ छिङ माइती भएकी वडा नम्बर ७ साँखकी २८ बर्सिया भावना बिकको शव सत्कार होटेलको १ नम्बर कोठामा सिरकले छोपिएको अवस्थामा फेला परेको थियो ।

केनाइन शाखाबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको कुकुर सहितको टोली तथा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । कुकुरले घटनास्थलको छानबिन गरेकाे छ । शव फेला परेको होटेल सत्कारको कोठा नम्बर १ देखि छान मार्न सुरु गरेको कुकुर सेरिगाउँसम्म पुगेको प्रहरीले जनाएको छ । होटेलबाट निस्किएर तलतिर झरेको कुकुर बाल मन्दिर, कालिका स्थान, त्रिवेणी चोक हुँदै बागबजारबाट सेरिगाउँसम्म पुगेको बताइएको छ ।

अब सोही आधारमा अनुसन्धान केन्द्रित हुने प्रहरीले जनाएको छ । ‘कुकुरले बाटो देखाएको छ, अब सोही अनुसार अनुसन्धान केन्द्रित हुने छ, हामीले अन्य तरिकाबाट समेत अनुसन्धान गरिरहेका छौँ, प्रहरी निरीक्षक खड्काले भन्नुभयो–अहिले धेरै भन्न सकिने अवस्थामा छैन, घटना अनुसन्धानकै चरणमा रहेको छ ।’ यसअघि यही तालिमप्राप्त कुकुर सल्लेमा भएको घटनाको अनुसन्धानका लागि पनि जिल्ला पुगेको थियो । उक्त घटनामा प्रहरीले सफलता प्राप्त गरेको थियो । 

DSC030881697555363.jpg

शव फेला परेको कोठा आइतबार त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा बुक गरिएको पाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । ‘मृतक महिलाले विकास आफ्नो श्रीमान् हो भनेर कोठा लिएको पाइएको छ, होटेलमा लेखिएको नाम सत्य हो कि होइन अनुसन्धान भइरहेको छ उहाँले भन्नुभयो ।’ प्रहरीका अनुसार कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा कोठाभित्र सिरकले छोपेको अवस्थामा शव भेटिएको हो । होटेलमा जानकारी नगराई हिजो देखि नै बाहिरबाट ताल्चा लगाएको देखिएपछि शङ्कास्पद ठानेर कोठा खोली हेर्दा शव फेला परेको होटेल सञ्चालकको भनाई छ ।

मृतक महिलाको आँखा छोपिने गरी टाउकोमा पट्टीले बाँधिएको र टाउकोबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । ‘हत्या भएको देखिन्छ, टाउकोमा चोट छ, अन्य अनुसन्धानको काम चलिरहेको छ, उहाँले भन्नुभयो ।’ मृतकका श्रीमान वैदेशिक राेजगारीमा रहेका छन् ।  मङ्गलवार बिहानै शव फेला परे पनि दिनभर शव चलाइएको थिएन । कुकुर सहितको टोली आउने भएपछि दिनभर शव चलाइएको थिएन । दिनभर प्रहरीले सुरक्षा दिएको थियो ।

कुकुर सहितको टोली साँझ पुगेपछि मात्र शवको मुचुल्का तयार पारिएको थियो । मृतकका आफन्तको उपस्थितिमा मुचुल्का तयार पारिएपछि शव उठाइएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको पोस्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update