पृष्ठभूमि
नेपाली समाजको युगीन परिवर्तनको उद्देश्य सहित थालिएको महान् जनयुद्ध आज २८ वर्ष पुरा गरी २९ वर्षमा प्रवेश गर्दै छ । राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरौँ ! नयाँ जनवादी राज्यसत्ताको स्थापना गरौँ !! भन्ने मूल नारा सहित सुरु गरिएको महान् जनयुद्ध थालनी, थालनीको निरन्तरता, छापामार इलाका हुँदै आधार इलाका र स्थानीय जनसत्ताका भ्रूणहरू स्थापना, असङ्ख्य आरोह अवरोह पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो कार्यान्वयनको यात्रासम्म आइपुगेको छ । यस दौरान आफ्नो अमूल्य जीवनको बलिदान गरी रक्त रञ्जित इतिहास निर्माण गर्ने महान् सहिदहरू प्रति श्रद्धा सुमन सहित जीवनको अङ्ग प्रत्यङ्ग गुमाई कष्टकर जीवन बिताइ रहेका घाइते योद्धाहरूका साथै बेपत्ता योद्धाहरू प्रति सम्मान अर्पन गर्दछु । नेपाली समाज तमाम शोषण, उत्पीडन, अन्याय, अत्याचार र असमानता जस्ता विसङ्गति र विकृतिद्वारा जकडिएको छ । दश वर्षे सशस्त्र जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनका साथै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना, २०७२ को नेपालको सङ्घीय संविधान निर्माण तथा सङ्घीय राज्य व्यवस्था स्थापना सम्म आइपुग्दा नेपाली समाजमा थुप्रै उलटफेरहरू हुन पुगेका छन् । जुन उपलब्धि प्राप्तिको ध्येय सहित महान् सहिदहरूले अमूल्य जीवनको उत्सर्ग गरेका थिए । ती सापेक्षिक हिसाबले उपलब्धिका रूपमा ग्रहण गर्न योग्य रहेका छन् तथापि जनयुद्धको जगमा हासिल गरिएका महत्त्वपूर्ण उपलब्धिहरूको संस्थागत विकास गर्न भने बाँकी नै छ । तसर्थ जनयुद्ध थालनीका विभिन्न चरण उप चरण हुँदै शान्तिकालका उतार चढावको यस सङ्घारसम्म आइपुग्दा गरिएका अनुभूतिहरूलाई यहाँ संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
१. महान् जनयुद्धको ऐतिहासिक थालनी र स्थापित मूल्य मान्यताहरू
जनयुद्ध कुनै जादुको छडी थिएन न त यो कुनै नाटकीय प्रहसन नै थियो । यो त महान् विचार आदर्श र मूल्य मान्यताद्वारा लयस मार्क्सवाद लेनिनवाद र माओवादको वैचारिक आलोकमा स्थापित भएको सर्वहारा वर्गीय उदात्त चेतनाद्वारा लयस भएका तमाम नेता, कार्यकर्ता र जनताहरूद्वारा सचेत र योजनाबद्ध ढङ्गले थालिएको न्यायपूर्ण र गौरवशाली लडाई थियो । तर समाजका एकाध मुठ्ठीभर शासकहरू जसले सनातनदेखि लुट खसोट गर्दै आएको अन्याय र विभेदपूर्ण शासन सर्वहारा श्रमजीवी वर्गमाथि अनवरत रूपमा थोपर्न चाहन्थे । चौतर्फी हत्या, आतङ्क, आगजनी, लुटपाट, दमन, अन्याय, अत्याचार र विभेदका असङ्ख्य हतकण्डाहरूद्वारा आफ्नो लुटको स्वर्ग बचाई राख्न चाहन्थे । राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, समाजवाद जस्ता सस्ता लोकप्रियताका नाराहरू अलापेर कहिल्यै नथाक्ने एकात्मक केन्द्रीकृत र हुकुमी शासनका पहरेदारहरू शान्ति र विकासका मन्त्रणा जपिरहन्थे । न्याय समानता र आमूल परिवर्तनका पक्षमा वकालत गर्ने देशभक्त, शान्तिप्रेमी, क्रान्तिकारी शक्तिहरूमाथि पाशविक हत्या, आतङ्क, दमन र बुट लाठी सहित बल प्रयोगमा उत्रिन्थे । तसर्थ बन्दुकको नालमा अडेको केन्द्रीकृत राज्यसत्ताको चङ्गुलबाट सदाका लागि मुक्ति प्राप्त गर्न माओवादी क्रान्तिकारीहरूको लागि बल प्रयोगको सिद्धान्तमा आधारित बन्दुक उठाउनु अनिवार्यता थियो । २०५२ फाल्गुण १ गते थालिएको महान् जनयुद्ध यसकै उत्कर्ष रूप थियो । रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको आठविसकोट स्थित राडी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङलीमा अवस्थित कृषि विकास बैङ्कमाथिको सशस्त्र फौजी आक्रमण पुरानो राज्यसत्ता जो हत्या, हिंसा, अन्याय अत्याचार र विभेदका अनगिन्ती साजिसहरूको जगमा उभिएका थिए, त्यसमाथिका प्रतिकात्मक र प्रतिरोधात्मक हमला थिए भने सोही रातभर देशव्यापी रूपमा दलाल, नोकर शाही, सुद खोर लगायतका जाली फटाहहरुमाथिका आक्रमणहरू थप चेतावनीका कारबाही थिए । यससँगै तत्कालीन राज्यसत्ता अत्तालिएर चौतर्फी रूपमा हत्या हिंसा सहित दमनमा उत्रियो । हत्या हिंसाको यो निकृष्ट र पाशविक दमनको पहिलो शृङ्खला २०५२ फाल्गुण १४ गते गोरखाका ११ वर्षका नाबालक दिल बहादुर रम्तेलको हत्या र यसकै निरन्तरतामा २०५२ फाल्गुण १५ गते रुकुम पिपल मेलगैरी हत्याकाण्डका नामले चिनिने मेलगैरीमा ६ जना निहत्था खत्रीवन्धुहरुको पाशविक र बीभत्स तरिकाले सामूहिक हत्या गर्न पुगे । यसको प्रतिरोध स्वरूप छापामारहरूद्वारा सिआईडी सुराकी र माओवादी नेता कार्यकर्ता र जनताहरूको हत्यामा संलग्नहरूमाथि फौजी कारबाही अगाडि बढाइए सँगै पुरानो सत्ताका रक्षकहरू रक्षात्मक स्थितिमा पुगे । फल स्वरूप अधिकांश भू-भागहरू खाली रहन गई माओवादी जनसरकार गठनका आधारशिलाहरू खडा भए ।
२. आधार इलाका निर्माण र जनसत्ताको अभ्यास
छापामार इलाकाहरूलाई आधार इलाकाहरूमा बदल्ने पार्टीको नीति र योजना अनुरूप नेपाली जनयुद्धलाई फौजी तथा गैर फौजी कारबाही द्वारा अगाडि बढाउने क्रमसँगै देशका माओवादी आधार क्षेत्रका रूपमा स्थापित रोल्पा, रुकुम, सल्यान, जाजरकोट, कालिकोट जस्ता जिल्लाहरूमा पुरानो सत्ताका सुरक्षा फौजले रक्षात्मक तरिकाले प्रहरी चौकीहरू सदरमुकाम केन्द्रित भएसँगै माओवादी प्रभावित क्षेत्रहरू खाली रहन पुग्दा पार्टीका तर्फबाट आधार इलाकाहरूमा स्थानीय जनसत्ताका अभ्यास हुँदै गए । तत्कालीन राप्ती ब्युरो र मगरात क्षेत्रमा जनसरकार गठन र घोषणा मार्फत न्याय सम्पादन गर्ने, रुकुमको छिपखोलामा बलिदान जनकम्युन, रोल्पाको थवाङ्ग जेलवाङमा अजम्मरी जनकम्युन तथा जाजरकोटमा जुनि कम्युन स्थापना, कतिपय स्थानमा जनवादी विद्यालय स्थापना, सहकारी गठन र उत्पादनमा वृद्धिका साथै आम जनतालाई फौजीकृत गर्न सैन्य तालिम, सुरुङ युद्धको तयारी तथा प्रतिरक्षात्मक तालिम, सैन्य सङ्गठनको संरचनामा स्क्वायड हुँदै प्लाटुन र कम्पनी स्तरका फर्मेशन सहित बटालियन र ब्रिगेड स्तरका सैन्य सङ्गठनको विकास गरिए भने भौतिक तथा प्राविधिक तयारीका कामलाई आधार क्षेत्रहरूमा विशेष रूपले अगाडी बढाइए । पार्टी सङ्गठनको व्यापक जालो निर्माण गर्न आधार क्षेत्रबाट नेता कार्यकर्ताहरू र जनमुक्ति सेनाको फर्मेशनलाई पूर्व पूर्वी नेपाल फर्कने र पश्चिम पश्चिम नेपाल फर्किने अभियानलाई व्यापकता दिइएको थियो भने पार्टी सङ्गठनलाई आम जनस्तरमा स्थापित गराउन शुद्धीकरण अभियान चलाउने, वैचारिक राजनैतिक चेतना स्तरको विकासका लागि मार्क्सवादी स्कुलिङ सञ्चालन जनदिशा र जनशैलीको भरपुर प्रयोग सहित जनताका बिचमा पार्टी सङ्गठन विस्तार लगायतका कामहरूलाई यस अवधिमा व्यापकता दिइएको थियो ।
विगतका विभेदकारी व्यवस्थाको सट्टा समान पहुँच र प्रतिनिधित्व सहितको राज्य व्यवस्थाको परिकल्पना जसरी हुन गयो यसलाई वर्तमानको सापेक्षतामा सकारात्मक रूपमा ग्रहण गरिनु पर्दछ । यद्यपि थुप्रै सम्बोधन हुनु पर्ने जन पक्षीय सवालहरू भने बाँकी नै छन् । यसको सचेत पहल राज्य र सरकारवाला पक्षबाट हुन आवश्यक छ ।
३. सुरुङ युद्ध र मोर्चाबद्ध लडाइको अभ्यास
हरेक चिज वस्तुको विकासको गति तलबाट माथि, सानोबाट ठुलो, सरलबाट जटिल, छिपछिपेबाट गहिराई हुँदै जित र हार तथा विजय र पराजय जस्ता प्रक्रियाहरू छिचोल्दै अगाडी बढ्दछ । मार्क्सवादले यसलाई सार्वभौम विकासको गतिको नियमका रूपमा लिने गर्दछ । जनयुद्ध पनि एक गतिशील पाटो भएको हुँदा यसका विकासका चरणहरू एकपछि अर्को छलाङमय गतिमा अगाडी बढ्दै जाँदा फौजी तथा गैर फौजी आक्रमणका दायराहरू वृहत् हुन पुग्नु, लडाइका मोर्चाहरू छापामार र लुकीछिपी भन्दा आमने सामने रूपमा हुन पुग्नु लडाइको अर्को विशेषता बन्न पुग्यो । खास गरी २०५८ साल मङ्सिर ८ गते भएको दाङ घोराही सैन्य ब्यारेकमाथिको सशस्त्र फौजी आक्रमण सँगै मोर्चा वन्दीमा परिणत भए । यस क्रममा रुकुमको सतिपोले सैन्य ब्यारेकमाथिको फौजी आक्रमण, रोल्पाको गाम, अछामको मङ्गलसेन, रोल्पाको हान्निङ कोर्चावाङ, वाँकेको कुसुम, म्याग्दीको सदरमुकाम बेनी र कालिकोटको पिली आक्रमण लगायत देशका अन्य स्थानहरूमा सम्पन्न गरिएका सफल/असफल फौजी मोर्चाहरू तत्कालीन जनमुक्ति सेनाका लागि मोर्चा बन्दी लडाइका उदाहरणहरू हुन् भने यसकै वगलबाट चुन्वाङ्ग बैठक र पार्टीको कार्यदिशाको बहस शान्तिपूर्ण आन्दोलन र जनयुद्धका माध्यमबाट प्राप्त गरिएका उपलब्धिहरूलाई समायोजन सहित संस्थागत विकास गर्ने योजना अगाडि बढेको पाइन्छ। जुन लडाइहरू तत्कालीन जनमुक्ति सेना नेपाल र पुरानो सत्ताका शाही सेनाबिच एकापसमा भएका आमने सामने लडाइका मौलिक तर भिन्न पहिचान सहितका मोर्चाहरू हुन् । यसकै सेरोफेरोमा खोजिएको थियो नेपाली जनयुद्धको भिन्न तर उच्च स्तरको सुरक्षित अवतरण अर्थात् क्रान्तिको नयाँ मोडल । सायद तत्कालीन पार्टी नेतृत्वले १२ बुँदे सहमति सहित जनयुद्ध र जनआन्दोलनको समायोजन गर्ने सशस्त्र युद्ध र शान्तिपूर्ण आन्दोलनका बिचबाट नेपालमा समाजवादी क्रान्तिको मोडेल निर्माणको आधारशिला पनि यही पेरीफेरीबाट परिकल्पना गरेको हुनु पर्दछ ।
पुरानो एकात्मक व्यवस्था परिवर्तन गर्न हजारौँको रगत पसिना बगे झैँ आम जनताको अवस्था परिवर्तन गर्न पनि त्यति नै मूल्य चुकाउनु पर्ने विद्यमान परिवेशमा जनयुद्धलाई सबैको साझा दिवस र अभियानका रूपमा इमान्दारिताका साथ ग्रहण नगरी धरै छैन । कुटिल र छलकपटका निहित स्वार्थ र सङ्कीर्ण सोचबाट यो कुरा सम्भव छैन ।
४.राज्य पुनर्संरचना र यसको बहस
२०६२/०६३ को जनआन्दोलन हुनु अगाडी अर्थात् शान्ति सम्झौताको बहसको वरिपरि नेपालमा राज्य पुनर्संरचनाको बहस खास गरी सङ्घीयता र यसको मोडालिटीका विषयमा व्यापक प्रश्नहरू उठेका थिए । यसलाई कतिले अग्रगमन त कतिले पश्चगमन अर्थात् देशको अस्तित्व सङ्कटमा पर्ने तर्क अघि सारे भने कतिले साँच्ची नै माओवादी जनयुद्धले उजागर गरेका र यसकै एजेन्डामा अन्तर्निहित अधिकार पहिचान वाकेको विषयवस्तु भनी अर्थ्याए । नेपाल वहुजातिय, बहुधार्मिक, वहुसाँस्कृतिक, बहुभाषिक विविधतायुक्त मुलुक हुनुको नाताले यहाँ धेरै राष्ट्रियता अस्तित्वमा रहेका छन् । ती राष्ट्रियतालाई पहिचानमा आधारित राज्य पुनर्संरचना गरेको खण्डमा थुप्रै राष्ट्रियताहरू बलिया हुने, मजबुत हुने निश्चित थियो । राष्ट्रियता बलियो हुनुको अर्थ राष्ट्र बलियो हुनु हो । आज माओवादी पार्टीले वाकेको आमूल परिवर्तनको नारा र माओवादी नेतृत्व यसकै जगमा स्थापित छ, बलियो छ तर पछिल्ला समय यसको प्रयोग सहित कार्यान्वयन गर्न सहमतीय प्रणाली अवलम्बन गर्दै जाँदा कतै कमजोरी भएको त छैन भन्ने प्रश्न उठिरहेको छ । किनभने जनयुद्धको अन्तर्यमा पहिचान र अधिकारका सवालहरू सुरुदेखि नै बहस हुँदै आएका विषय हुन् । खैर जे भए पनि आज यसलाई स्थापित गराउन नसक्नु कतै हाम्रा समस्या त होइनन् भन्ने तर्क आउनु स्वाभाविक छ ।
५. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा र हाल यसको प्रयोग
नेपालमा २०७२ सालमा घोषणा गरिएको सङ्घीय संविधानको अन्तर्यमा नेपाल धर्मनिरपेक्ष राज्य बनेको छ, समानुपातिक र समावेशी राज्य संरचनाको परिकल्पना सहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरिएको छ । तिन तहको राज्य संरचनाको व्यवस्था गरिएको छ । समाजवाद उन्मुख आर्थिक सामाजिक समृद्धिको नारा अगाडि सारिएको छ । यसबाट जनताले आफ्नै घर आँगनको स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गरिरहेका छन् । यी माथिका सबै प्राप्त उपलब्धिहरू दश वर्षे जनयुद्धको जग र जनआन्दोलन दुई अर्थात् २०६२/०६३ को शान्तिपूर्ण आन्दोलनका क्रममा प्राप्त गरिएका महत्त्वपूर्ण उपलब्धिहरू हुन् । माओवादी जनयुद्धको भीषण आँधीबेहरीमय घडीहरूमा प्राप्त गरिएका उपलब्धिहरू नेपाली समाज रूपान्तरणका महत्त्वपूर्ण पेहलुहरु हुन् । यसलाई नेपाली विशेषता अनुरूपको विशिष्ट उपलब्धि भन्न सकिन्छ । नेपाली जनताको असीम त्याग, तपस्या र बलिदानको उपज नै आजका यी सबै उपलब्धिहरू हुन् । आर्थिक सामाजिक सांस्कृतिक रूपान्तरण जस्ता विषयहरू जनयुद्धकै गर्भमा अन्तर्निहित रहेका थिए । सामाजिक न्याय र सबै क्षेत्रका वर्ग, लिङ्ग, क्षेत्र, जातजाति र भाषाभाषीहरुको अर्थपूर्ण प्रतिनिधित्व र सुनिश्चितता पनि जनयुद्धकै प्रतिफल स्वरूप स्थापित भएका हुन भन्दा अतिशयोक्ति हुँदैन । न्याय र समानताका क्षेत्रमा पहुँच एवम् मूल प्रवाहीकरण पनि यसकै गर्भमा अन्तर्निहित छ । जे होस नेपाली समाज रूपान्तरण सँगै आम जनताको जीवन व्यवहार परिवर्तन आजको आवश्यकता हो । सामाजिक न्याय र समतामूलक समाजको परिकल्पनाले सार्थकता पाउनु यति वेलाको मुख्य उपलब्धि हो । विगतका विभेदकारी व्यवस्थाको सट्टा समान पहुँच र प्रतिनिधित्व सहितको राज्य व्यवस्थाको परिकल्पना जसरी हुन गयो यसलाई वर्तमानको सापेक्षतामा सकारात्मक रूपमा ग्रहण गरिनु पर्दछ । यद्यपि थुप्रै सम्बोधन हुनु पर्ने जन पक्षीय सवालहरू भने बाँकी नै छन् । यसको सचेत पहल राज्य र सरकारवाला पक्षबाट हुन आवश्यक छ ।
६.निष्कर्ष
नेपाली समाजको विशिष्ट अवस्था र यहाँ रहेका वहुआयामिक असमानता र विविधताको अन्त्यका लागि भीषण आँधीबेहरी सहितको दश वर्षे जनयुद्धले पैदा गरेका दूरगामी महत्त्व राख्ने उपलब्धिहरूलाई इमान्दारिताका साथ आत्मसात् नगरी कोही पनि वर्तमानका मौजुदा उपलब्धिहरूको गर्व गर्न सक्ने अवस्था छैन । तसर्थ एकीकृत र केन्द्रीकृत राज्यसत्ताका विरुद्ध धावा बोलेर नयाँ जनवादी व्यवस्था प्राप्तिका लागि बलिदान गरेका महान् सहिदहरूको साँचो सम्मान आवश्यक छ । व्यवस्था परिवर्तन सहज र सपाट बाटोबाट भएको होइन यो त वक्र रेखा र सयौँ घुम्तीका बिचबाट मात्र सम्भव भएको हो । सदिऔं पुरानो एकात्मक व्यवस्था परिवर्तन गर्न हजारौँको रगत पसिना बगे झैँ आम जनताको अवस्था परिवर्तन गर्न पनि त्यति नै मूल्य चुकाउनु पर्ने विद्यमान परिवेशमा जनयुद्धलाई सबैको साझा दिवस र अभियानका रूपमा इमान्दारिताका साथ ग्रहण नगरी धरै छैन । कुटिल र छलकपटका निहित स्वार्थ र सङ्कीर्ण सोचबाट यो कुरा सम्भव छैन । त्यसैले जनयुद्धले स्थापित गरेका दूरगामी युगीन परिवर्तनका उपलब्धिहरूलाई वर्तमान परिप्रेक्ष्य आत्मसात् गरेर मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको यात्रालाई गन्तव्य सम्म पुर्याउन सकिन्छ ।
अन्तमा जनयुद्ध जिन्दाबाद महान् सहिदहरू अमर रहुन् जनयुद्धको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सफल पारौँ ।
लेखक हाल रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर ६ काे वडाध्यक्ष हुनुहुन्छ ।