Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षा: शीतल मावि रुकुम पश्चिमकै अब्बल, ३४ जनाले ल्याए ३.६० माथिको जिपीए  
शीतल मावि चाैरजहारी ।

रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल मावि माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजामा जिल्लाकै अब्बल देखिएको छ । यस विद्यालयबाट साधारण तर्फ, प्राविधिक धार तर्फ र खुला तर्फ गरी विद्यार्थीहरू एसइईमा सहभागी भएका थिए । जिल्लामा ३.६० देखि ४ सम्मको रेन्जमा जिपीए प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थी यसै विद्यालयका छन् । जिल्लाबाट साधारण तर्फ र प्राविधिक धार तर्फ गरी ८६ जनाले यो रेन्जमा जिपीए प्राप्त गरेकामा ३४ जना यसै विद्यालयका रहेका छन् ।

यो ३९.५३ प्रतिशत हो । साधारण तर्फ १५ जनाले ३.६० वा त्यो भन्दा माथिको जिपीए प्राप्त गरेकामा प्राविधिक तर्फ १९ जनाले प्राप्त गरेका छन् । समग्रमा यो सङ्ख्या जिल्लाकै सबैभन्दा बढी हो । साधारण तर्फ कुल १ सय ७९ जना परीक्षामा सामेल भएकामा १५ जनाले ३.६० वा त्यो भन्दा माथिको जिपीए प्राप्त गर्दा ३.२ देखि ३.६ सम्म ६१, २.८ देखि ३.२ सम्म ७५, २.४ देखि २.८ सम्म १६ जनाले ल्याए भने १२ जना नन ग्रेड (एन.जी) अर्थात् अनुत्तीर्ण भएको विद्यालयले जनाएको छ । साधारण तर्फ यस विद्यालयको ९३.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

प्राविधिक तर्फ भने शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ४७ जना विद्यार्थी रहेकामा १९ जनाले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याए भने २७ जनाले ३.२ देखि ३.६ र २ जना विद्यार्थीले २.८ देखि ३.२ को जिपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक यदु रानाले जानकारी दिनुभयो । प्राविधिक तर्फ कोही पनि विद्यार्थी एनजी अर्थात् अनुत्तीर्ण भएनन् । 

खुला तर्फ पनि विद्यालयको नतिजा राम्रो देखिएको छ । खुला तर्फ २ सय २४ जनाले परीक्षा फारम भरेकामा ३.२ देखि ३.६ सम्म ७२ जना, २.८ देखि ३.२ सम्म १ सय १३, २.४ देखि २.८ सम्म २४, २.० देखि २.४ सम्म १ जना गरी २ सय १० जना उत्तीर्ण भएको प्रधानाध्यापक रानाले जानकारी दिनुभयो । खुला तर्फ १४ जनाले एनजी ल्याएका छन् । 

समग्रमा विद्यालयको उत्तीर्ण प्रतिशत ९४.२२ प्रतिशत रहेको छ । साधारण, प्राविधिक र खुला गरी कुल ४ सय ५० जना परीक्षार्थीले परीक्षा फारम भरेकामा ४ सय २४ जना उत्तीर्ण भएका छन् भने मात्र २६ जना अनुत्तीर्ण भएका छन् । साधारण तर्फ मात्र ३.६० वा त्यो भन्दा माथिको जिपीएमा सबै भन्दा बढी मुसिकोट ५ को न्यु मुन लाइट बोर्डिङ स्कुलका १७ विद्यार्थीले उत्तीर्ण गरेका छन् । व्यक्तिगत रूपमा पनि यसै विद्यालयका रुसन रावत र अलेक्टर ओली जिल्लामा सर्वोत्कृष्ट भएका छन् । उनीहरू दुवै जनाले ३.९५ जिपीए प्राप्त गरेका छन् ।  

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update