रुकुम पश्चिमको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित मुरु स्वास्थ्य चौकीमा नयाँ सुविधा सम्पन्न प्रसूति भवन निर्माण सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका र वान हर्ट वर्ल्ड वाइडको साझेदार संस्था रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजनाको साझेदारीमा प्रसूति भवन बनेको हो । भवन निर्माण सम्पन्न भए पश्चात् उद्घाटनका साथै नयाँ भवनबाट सेवा प्रवाह समेत सुरु भएको छ ।
असार २५ गते भवन निर्माण कार्य सम्पन्न भएकोमा बुधवार उद्घाटन भएको हो । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । वडा नम्बर ७ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्साल, वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरी, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी अधिकृत नरेन्द्र ओली, जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मुरु स्वास्थ्य चौकी इन्चार्ज सुशील विष्टले गर्नुभएको थियो ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले नयाँ प्रसूति भवनले प्रसूति सेवा प्रवाहमा निकै सहजता हुने विश्वास व्यक्त गर्नुभयो । हालसम्म पुरानो स्वास्थ्य चौकी भवनबाटै प्रसूति सेवा सञ्चालन गर्दा समस्या भइरहेको अवस्थामा नयाँ भवन निर्माण भएपछि अब प्रसूति सेवा प्रवाहमा देखिएका समस्या हल हुने उहाँले बताउनुभयो ।
प्रसूति भवनका लागि साझेदारी गर्ने वान हर्ट वर्ल्ड वाइड र रुकुमेली समाज विकास केन्द्रलाई धन्यवाद दिँदै आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रवाहलाई सजिलो, सहज र गुणस्तरीय बनाउन अन्य कार्यक्रममा साझेदारी हुने विश्वास व्यक्त गर्नुभयो ।
३७ लाख १५ हजार लागतमा भवन निर्माण सम्पन्न भएको वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । भवनको लागत स्टामेट ५६ लाख रहेकोमा ३८ लाखमा ठेक्का लागेको र निर्माण सम्पन्न भने ३७ लाख १५ हजारमा सम्पन्न भएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि २०८० जेठ २५ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार भवन निर्माणको काम २०८१ को वैशाख ३० गते सम्पन्न हुनुपर्ने थियो । तर समयमा काम सम्पन्न नभएपछि समय थप भएको थियो । मापदण्ड अनुसार प्रसूतिका लागि आवश्यक संरचना सहितको एक तले ४ कोठाको भवन निर्माण भएको हो । मुरु कन्स्ट्रक्सन एन्ड सर्भिसेज प्रालिले भवन निर्माण गरेको बताइएको छ । यो स्वास्थ्य संस्थाबाट रुकुम पश्चिम सहित सल्यानसम्मका बिरामी तथा गर्भवती महिलाहरूले सेवा लिँदै आएका छन् ।
सम्बन्धित समाचार