Kakhara सबैको खबर सम्पूर्ण खबर
न्याय माग्दै खिमकलाका माइती पक्ष जिल्ला प्रशासन कार्यालयमा  
न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्ष ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० की खिमकला ओलीका माइती पक्ष न्याय माग्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । खिमकलाको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका उनका श्रीमान दीपक खड्का साधारण तारिखमा रिहा भएपछि न्यायको माग गर्दै खिमकलाका माइती पक्ष मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेका हुन् । 

खिमकलाले आत्महत्या गरेको नभई उनका श्रीमानले हत्या गरेको आरोप माइती पक्षले लगाइरहेका छन् । उनिहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । सोमबार वडा नम्बर १० र मंगलबार बिहान सानीभेरी गाउँपालिकाको कार्यालयमा दोषीलाई कारवाहीको माग गर्दै धर्ना दिएका पीडित पक्षले मंगलबार नै दिउँसो जिल्ला प्रकाशन कार्यालयमा धर्ना दिएका हुन् । 

धर्ना अघि उनिहरुले दोषीलाई कारवाही र न्यायको माग सहित खलंगा बजार परिक्रमा समेत गरेका थिए । पीडित पक्षले घटनाको निष्पक्ष छनवीन र दोषीलाई कारबाहीको माग गरेका छन् । सानीभेरी १० घन्ठानामा विवाह गरेकी १८ वर्षिया खिमकला गत पौष ९ गते राती घर नजिकैको गहुँबारीमा मृत फेला परेकी थिइन् । 

श्रीमान दीपकले श्रीमतीलाई झुण्डिएको अवस्थामा देखेको र जीवितै हुनसक्ने आशंकामा आफुले झुण्डिएको अवस्थाबाट निकालेको तर उनको त्यसअघि नै मृत्यु भइसकेको बयान दिएका थिए । उनलाई प्रहरीले आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ गरेको थियो । दीपकलाई रुकुम अदालतले गत पौष २९ गते साधारण तारिखमा रिहा गरेको छ । 

IMG_14681673959316.JPG
न्याय माग्दै जिल्ला सदरमुकाम पुगेका पीडित पक्ष ।

पीडित परिवारले प्रहरीले मुद्धालाई कमजोर बनाएको आरोप समेत लगाएका छन् । तर प्रहरीले भने कानून वमोजिम अनुसन्धान गरी अदालतमा बुझाएको बताएको छ । 

आवश्यक भए थप अनुसन्धान हुन्छः प्रमुख जिल्ला अधिकारी
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मुद्धाको टुंगो लागिनसकेकोले अहिले नै न्याय पाएनौं भन्नु हतार हुने भन्दै पीडित पक्षलाई सम्झाएको बताउनुभएको छ । ‘मुद्धा अदालतमा विचाराधिन छ, तपाइहरु नआत्तिनुहोस, कतै अनुसन्धान नपुगेको, थप अनुसन्धान गर्नुपर्ने आवश्यकता देखियो भने अवश्य अनुसन्धान हुन्छ पीडित पक्षलाई यही भनेर सम्झाएका छौं, उहाँले भन्नुभयो ।’ 

पीडितहरुमा प्रहरी र प्रशासनले आरोपितलाई छाडेको र मुद्धाको अन्तिम टुंगो लागिसकेको भन्ने गलत बुझाई समेत पाइएको उहाँले बताउनुभयो । प्रहरी र प्रशासनको आश्वासन पछि पीडित पक्ष घर फर्किएका छन् । तर आफुहरुको आन्दोलन जारी रहेको पीडित पक्षको भनाई छ । 

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update