रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथोकी आफ्नै घरभित्र मृत फेला परेको घटनाको सत्यतथ्य छानबिन गर्न रुकुम पश्चिमका अधिकारकर्मीहरुले माग गरेका छन् । शनिबार एक ध्यानाकर्षण पत्र जारी गर्दै उनिहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरेका हुन् । बुढाथोकी आफ्नै घरभित्र मृत फेला परेको घटनाले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउदै उनिहरुले बालबालिका तथा महिलाको सुरक्षित, सम्मानित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार अधिकार खण्डित भएको जनाएका छन् ।
यस्ता जघन्य प्रकृतिका घटनाका कारण नागरिकहरुले असुरक्षाको महशुस गरिरहेको अवस्थामा आम नागरिकको सुरक्षाको प्रत्याभुति दिलाउनु राज्यको पहिलो दायित्व भएको समेत पत्रमा उल्लेख गरिएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषिलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र मार्फत आगामी दिनमा यस्ता घटना हुन नदिन जिल्लास्थित सबै सरोकारवाला निकायहरुलाई समयमै सचेत हुन पनि आग्रह गरिएको छ ।
महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष व्युझना पुन देवकोटा, महिला पुनस्र्थापना केन्द्र (ओरेक)का जिल्ला संयोजक दिपा धिताल, हरप्लेस नेपालका सदस्य मनिषा केसी, अन्तरपार्टी महिला सञ्जालका सदस्य बसन्ती परियार र सहकर्मी समाजका सदस्य माया बोहराको हस्ताक्षरमा ध्यानाकर्षण पत्र जारी गरिएको छ ।