रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा एक महिला मृत अवस्थामा फेला परेको घटनाको कुकुर सहितको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ । शुक्रबार राती स्थानीय हस्तकली बुढाथोकीको शव आफ्नै घरमा बाहिरबाट ढोका लगाइएको अवस्थामा फेला परेको थियो ।
शनिबार अपरान्ह घटनास्थलमा पुगेको तालिमप्राप्त कुकुर सहितको टोलीले उक्त घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । कर्णाली प्रदेश कुकुर शाखा नेपालगञ्जबाट आएको तालिमप्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट आएको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
तालिमप्राप्त कुकुरले शनिबारै घटनास्थल र आसपासको क्षेत्रमा सर्च गरेको र अब सोही आधारमा अनुसन्धान केन्द्रीत हुने उहाँले बताउनुभयो । कुकुरलाई आज फिर्ता पठाउन लागिएको छ भने प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्माको नेतृत्वमा आएको ६ जनाको टोली भने जिल्लामै रहने प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
‘घटना शंकास्पद देखिएपछि तालिमप्राप्त कुकुर र विशेष अनुसन्धान टोली आइपुगेको छ, कुकुरले घटनास्थल आसपासका विभिन्न ठाउँमा सर्च गरेको छ, त्यसका आधारमा अनुसन्धान टोलीले अनुसन्धान अघि बढाएको छ,’ उहाँले भन्नुभयो ।
यसैविच शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको पोष्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ । कुकुर सहितको अनुसन्धान टोली पुगेपछि आवश्यक प्रक्रिया पुरा गरेर शव उठाइएको र पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ ।
बुढाथोकी घरमा एक्लै बस्दै आउनुभएको थियो । बाहिरबाट ताला लगाइएको अवस्थामा आफ्नै घरको कोठामा उहाँको शव फेला परेको थियो । उहाँका दुई छोरा मध्ये कान्छा छोरा जापान र जेठा छोरा नेपालगञ्जमा बस्दै आउनुभएको छ । श्रीमानको भने केही वर्ष अघि मृत्यु भएको थियो ।