रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ जुगेपानीका चन्द्रबहादुर खड्का उमेरले ५२ वर्षमा लाग्नुभयो । तर उहाँको कृषि पेसा प्रतिको जोस जाँगर र लगाव देख्दा युवावस्थाकै झल्को आउँछ । सायदै युवाहरूले उहाँसँग प्रतिस्पर्धा गर्न सक्छन् । खड्कालाई खाना बस्न भन्दा आफ्नो बारीको चिन्ता बढी लाग्छ । सुन्तला टिप्ने सिजन आएकोले उहाँ यति बेला झन् व्यस्त हुनुहुन्छ । कामको चाप पनि नहोस् कसरी कृषिबाटै उहाँले वार्षिक लाखौँ रकम कमाउनुहुन्छ ।
‘सुन्तला बगैँचा नजिकै पनि एउटा घर छ, तर जाडोको समय बस्ने घर बगैँचा भन्दा टाढा भएकाले कसैले रातको समयमा सुन्तला चोरी नगरोस् भनेर रातको ११, १२ बजे यहाँ पुग्छु, बारीको रेखदेख गरेर फर्कन्छु, सिजनको समय बढी रेखदेख गर्नुपर्छ, यो बेला बढी कामको चाप हुन्छ’ खड्काले भन्नुभयो । उहाँको बारीमा नपाइने सायद कमै तरकारी तथा फलफूल होलान् । खड्काको सुन्तला बारीमा प्रवेश गर्ने हो भने जोकोहीको पनि मन भुल्छ । बारीमा समय बिताउन पट्यार लाग्दैन बरु खड्कालाई बारीमै समय बिताउन आनन्द महसुस हुन्छ ।
उहाँको सुन्तला बगैँचा मात्रै छैन । फरक फरक ठाउँमा अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्द गोभी, फुल गोभी, खुर्सानी, विभिन्न घाँस तथा फलफूलको नर्सरी छ । ३७ वर्षको उमेरदेखि कृषि पेसामा आबद्ध हुनुभएका खड्का निरन्तर १५ वर्षदेखि कृषि पेसामै हुनुहुन्छ । ‘सानो छदा बाबाले थोरै जग्गामा सुन्तला लगाउनु भएको थियो, त्यति वेला पनि हाम्रो जग्गामा राम्रै उत्पादन हुन्थ्यो, बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर मलाई व्यावसायिक रूपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो ।’ उहाँ भन्नुहुन्छ । खड्कालाई कृषि पेसा गर्न उहाँकी श्रीमती लालकुमारीको दह्रो साथ सहयोग मिलेको छ ।
‘खड्का भन्नुहुन्छ म काम विशेषले घरबाहिर जानुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गर्छिन्, घरपरिवारबाट सहयोग मिलेको छ ।’ खड्का दम्पतीको सात जनाको परिवार थियो । तर दुई छोरीको विवाह भइसकेको छ भने एक छोरी र एक छोरा पढाइका लागि जिल्ला बाहिर छन् । एउटा छोरामा एक संस्थामा आबद्ध भएर काम गरिरहेका छन् ।
‘खड्काका एक छोराले अमेरिका जाने सपना देखेका छन् । गाउँका धेरै जना अमेरिका गइसकेका छन्, एउटा छोराले म पनि अमेरिका जान्छु भनेको छ, तर मैले मानेको छैन, यहीँ धेरै कमाउन सकिन्छ, नेपालमै गर्ने हो भने म जति पनि लगानी गर्छु भनेर सम्झाइरहेको छु,’ उहाँले सुनाउनुभयो । कृषिमा धेरै नै सम्भावना रहेकोले छोरालाई पनि कृषिमै आबद्ध गराउने आफ्नो सपना रहेको खड्काको भनाई छ । ‘मैले यहाँ दुःख गरेको छोराछोरीकै लागि हो, छोराछोरी पनि यतै जमेर बसुन् भन्ने त सबै आमा बाबुलाई लाग्ने नै भयो, उहाँले भन्नुभयो–मेले पनि मेरा छोरा छोरीले देशमै केही गरुन् भन्ने चाहेको छु, अरू केही नभए पनि कृषिमै लाग्न प्रेरित गरिरहेको छु ।’ लालकुमारीलाई पनि छोरा छोरी विदेश गएको हेर्न मन छैन । अर्काको देशमा दुःख पाउनु भन्दा छोरा छोरीले आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर उहाँलाई छ ।
मनै लोभ्याउने सुन्तला बगैँचा
२०६२ सालबाट व्यावसायिक सुन्तला खेती सुरु गर्नुभएका चन्द्रबहादुरको बारीमा अहिले ३ हजार ६ सय सुन्तलाका बोट छन् । जसमा पाँच सय बोटले फल दिन सुरु गरिसकेका छन् । अन्य बोटहरू साना छन् । ती बोटले पनि दुई वर्ष भित्र फल दिन सुरु गर्ने खड्का दम्पती बताउँछन् । गत वर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यो साल सुन्तलाले राम्रो फल दिएकाले ५० क्विन्टल सुन्तला बिक्री गर्ने योजना खड्का दम्पतीको छ । गत वर्ष सुन्तला बिक्रीबाट ३ लाख ७५ हजार कमाई भएकामा यो वर्ष दोब्बर हुने अनुमान छ ।
सुन्तला बारीबाटै प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा बिक्री हुने गरेको खड्काले बताउनुभयो । सुन्तला खरिद गर्न दाङ, सल्यानबाट व्यापारी आउने गरेका छन् । खड्काले सुन्तलाबाट मात्रै कमाई गर्नुहुन्न । उहाँका आम्दानीका स्रोत अलैँची, अमिलो, टिम्मुर लगायत अन्य फलफूल रहेका छन् । गएको वर्ष चार क्विन्टल बढी अलैँचीबाट साढे पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो । अलैँची पनि गाउँबाटै प्रति किलो १३ सयमा विक्री हुने गरेको छ । त्यस्तै हिउँदे तरकारीबाट साढे तीन लाख र फलफूल (कागती, सुन्तला, अमिलो, डाले घाँस) लगायतका बिरुवा बिक्रीबाट १७ लाख, खसी बोका बिक्रीबाट वार्षिक साढे तीन लाख रुपैयाँ आम्दानी हुने गरेको छ । वार्षिक ३५ देखि ४० लाखसम्म आम्दानी गर्ने गरेको खड्काले सुनाउनुभयो । वार्षिक ३५ देखि ४० लाख आम्दानी हुने गरे पनि खर्च व्यवस्थापन गर्दा २० देखि २५ लाखसम्म वार्षिक बच्ने गरेको छ । खड्काले ६२ रोपनीमा सुन्तला खेती विस्तार गरेको सुनाउनुभयो । बाँकी रहेको पाखो पारीमा पनि थप सुन्तला खेती गर्ने योजना उहाँको छ । हाल सुन्तलाले फल दिन सुरु गरेको जग्गामा पनि जङ्गल फडानी गरेर सुन्तला खेती विस्तार गरेको खड्काले बताउनुभयो ।
अनुदान पाउन नसकेको गुनासो
व्यावसायिक रूपमा कृषि पेसा गरे पनि पर्याप्त अनुदानका कार्यक्रम नपाएको गुनासो उहाँको छ । अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र समेट्ने गरेको उहाँको दुखेसो छ । अनुदानका कार्यक्रमहरूमा वास्तविक किसानलाई पहिचान गरी समेट्नु पर्ने उहाँको सुझाव छ । आफूले अहिलेसम्म कृषि विकास कार्यालयबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाई पोखरी र बाख्रा पालनको लागि भकारो सुधार कार्यक्रम अन्तर्गत अनुदान पाएको उहाँको भनाई छ ।
एक जनालाई रोजगारी
खड्का दम्पतीले एक जनालाई वार्षिक रूपमा रोजगारी पनि दिएका छन् । मासिक साढे १२ हजारका दरले एक जनाले रोजगारी पाएको उनीहरूको भनाई छ । केही कामदार थप्ने सोचमा खड्का दम्पती छन् । कामदार लगाएपछि बगैँचा हेरफेर गर्न, गोडमेल गर्न सहज भएको उनीहरू बताउँछन् । सिजनमा भने केही दिनका लागि १० जना भन्दा धेरै कामदार लगाउने गरेको खड्काले बताउनुभयो ।
सडक मर्मत नहुँदा समस्या
गाउँसम्मै सडक पुगेकोले उत्पादनलाई बजार पुर्याउन सहज त भएको छ । तर ग्रामीण सडक व्यवस्थित तथा समयमै सरसफाइ नहुँदा बजार पुर्याउन समस्या हुने गरेको छ । बजारको भने समस्या नरहेको खड्काको भनाई छ । सोही ठाउँकै अर्का कृषक टेकबहादुर खड्काले पनि सुन्तला र अलैँचीबाट राम्रो उत्पादन हुने गरेको बताउनुभयो । गत वर्ष २५ क्विन्टल सुन्तला र दुई सय ४० किलो अलैँची बिक्री गरेर साढे पाँच लाख आम्दानी गरेको उहाँको भनाई छ ।
वडासँग छैन किसान तथा उत्पादनको यकिन विवरण
किसानले उत्पादन तथा बिक्री गर्ने कृषि जन्य वस्तुको वडा कार्यालयले कुनै तथ्याङ्क तथा विवरण राखेको छैन । वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिक रूपमा खेती गरे पनि वडा कार्यालयले तथ्याङ्क नराख्दा वडामा कति रकम भित्रियो भन्न सकिने अवस्था छैन । वडामा धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरे पनि वडामा यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाँठा स्विकार्नुहुन्छ । ‘किसानले उत्पादन गरेको कृषि जन्य वस्तु आफै बिक्री गर्ने गरेका छन्, कति उत्पादन हुन्छ, कति विक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन । ’ वडा अध्यक्ष बाँठाले भन्नुभयो । त्यस्तै उत्पादित वस्तुको बजार र मूल्यमा पनि वडाले कुनै पहल नगरेको किसानहरूको गुनासो छ । यसतर्फ अब ध्यान दिने वडाले जनाएको छ ।
वडाबाट गत वर्ष १ करोड २० लाखको सुन्तला बिक्री
त्रिवेणी गाउँपालिका कृषि शाखाले भने ४ नम्बर वडाबाट मात्रै गत वर्ष एक करोड २० लाखको सुन्तला बिक्री जनाएको छ । कृषि शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्तला खेती गर्ने घरधुरी सङ्ख्या ५० रहेको छ । प्रत्येक किसानले पाँच रोपनी भन्दा बढी जग्गामा खेती गरेका छन् । पाँच रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुभयो । वडामा चार सय रोपनी अर्थात् २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गत वर्ष वडामा दुई हजार चार सय क्विन्टल सुन्तला उत्पादन भएको थियो । यो वर्ष सुन्तलाले फल राम्रो दिएकाले गत वर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । गाउँबाटै प्रतिकिलो ५० का दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेको र किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनको भनाई छ ।