Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट झन्डै १३ सय विद्यार्थी एसइईको ग्रेडवृद्धिमा सहभागी हुँदै

रुकुम पश्चिममा माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेडवृद्धि परीक्षा तीन केन्द्रमा सञ्चालन हुने भएको छ । जिल्ला परीक्षा समन्वय समितिले एसइईको ग्रेडबृद्धि परीक्षा तीन केन्द्रमा सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त सबै केन्द्र जिल्ला सदरमुकाम मुसिकोटमा रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका निमित्त प्रमुख डायमन्ड पुनका अनुसार मुसिकोट नगरपालिका वडा नम्बर १ को त्रिभुवन जनता मावि खलङ्गा र वडा नम्बर ५ का यमुना नन्द नमुना मावि तथा न्यु मुन लाइट बोर्डिङ स्कुल शेरिगाउँमा एसइईको परीक्षा केन्द्र तोकिएको छ । उहाँका अनुसार जिल्लाभरबाट झन्डै १३ सय विद्यार्थी ग्रेडबृद्धि परीक्षामा सहभागी हुने छन् ।

पालिकाका ६ पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका १२ सय ७६ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा फारम भरेको पुनले बताउनुभयो । सबैभन्दा बढी विद्यार्थी त्रिजमावि खलङ्गा केन्द्रमा रहेका छन् । यो केन्द्रबाट २६ वटा विद्यालयका ४ सय ५४ जना विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिँदै छन् ।

न्यु मनु लाइट परीक्षा केन्द्रमा २० वटा विद्यालयका ४ सय ३३ जना विद्यार्थी सहभागी हुने निमित्त इकाई प्रमुख पुनको भनाई छ । यमुना नन्द नमुना मावि परीक्षा केन्द्रबाट ३२ विद्यालयका ३ सय ८९ जना विद्यार्थीले परीक्षा दिने उहाँले बताउनुभयो । एसइईको ग्रेडबृद्धि परीक्षा साउन २३ गते देखि ३१ गतेसम्म सञ्चालन हुने छ । नन ग्रेड आएको सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धिको परीक्षा दिन पाउने छन् ।

गत चैत्रमा सञ्चालन भएको एसइई परीक्षा २०८० मा  रुकुम पश्चिमबाट साधारण र प्राविधिक धार तर्फ गरी कुल ३ हजार ५ सय ६६ जनाले परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ हजार २ सय ९० जना ६४.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update