Kakhara सबैको खबर सम्पूर्ण खबर
सिर्जनाले नै गरेकी थिइन ५ वर्ष अघि सल्लेकै आइतीको हत्या 
दुई महिलाकाे हत्या आराेपमा प्रहरी हिरासतमा रहेकी सिर्जना ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी सल्लेकै २३ वर्षिया सिर्जना बुढा बोहराले ५ वर्ष अघि नै एक महिलाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । २०७५ असार १२ गते सल्लेकै ४६ वर्षिया आइती बुढाको हस्तकलीकै जसरी बाहिरबाट ढोकामा ताल्चा लगाइएको अवस्थामा आफ्नै घरको कोठामा शव भेटिएको थियो । उक्त घटनामा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको थिएन । सोही प्रकृतिमा हस्तकलीको हत्या भएपछि प्रहरीले सिर्जना माथि नै अनुसन्धान सुरु गरेको थियो । जसक्रममा आइतीको हत्या पनि सिर्जनाले नै गरेको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

सिर्जनाले २०७५ असार १० गते राती अन्दाजी ११ बजेको समयमा आइतीलाई उनकै सुत्ने कोठामा काठको पिर्का, बञ्चरो, बाउसो र चक्कुले टाउको र छातीमा प्रहार गरी हत्या गरेको डिएसपी भट्टराइले बताउनुभयो । त्यतिबेला सिर्जना १८ वर्षकी थिइन । दुवै घटनाको प्रकृति एकै भएपछि उक्त घटनामा पनि सिर्जना नै संलग्न भएको हुनसक्ने आशंकामा अनुसन्धान गर्दै जादा उक्त घटनापनि सिर्जनाले नै घटाएको खुल्न आएको उहाँको भनाई छ । असार १० गते राती नै हत्या भएपनि आइतीको शव त्यसको पर्सिपल्ट असार १२ गते फेला परेको थियो ।

हस्तकलीको शव पनि भोलीपल्ट फेला परेको थियो । साउन १८ गते बिहिबार राती हत्या भएकामा त्यसको भोलीपल्ट साउन १९ गते शुक्रबार राती मात्र शव फेला परेको थियो । दुवै महिला घरमा एक्लै बस्दै आएका थिए । दुवै घटना चोरीकै लागि भएको प्रहरीले जनाएको छ । ५ वर्ष अघि भएको हत्या पनि चोरीकै लागि भएको खुल्न आएको डिएसपी भट्टराइले बताउनुभयो । उहाँका अनुसार त्यतिबेला सिर्जनाले आइतीको हत्या गरी सुनको कानबाली चोरी गरेकी थिइन । सिर्जनाले ५ वर्षपछि हस्तकलीको हत्या पनि सुनकै लागि गरेको प्रहरीको भनाई छ ।

सिर्जनाले हस्तकलीको घरबाट सुनको सिक्रि, चन्द्रमा, एक जोडा कानबाली, लकेट चोरी गरी खलंगाको एक सुनचाँदी पसलमा बिक्रि गरेकी थिइन् । ५ वर्ष अघि पनि सिर्जनाले हत्या गरी चोरी गरेका सुन खलंगाकै एक सुनचाँदी पसलमा बिक्रि गरेको खुल्न आएको प्रहरीले जनाएको छ । त्यसबेला उक्त सुन खरिद गरेको आरोपमा प्रहरीले खलंगाको तल्लोबजारमा रहेको नारायणी सुनचाँदी पसलका संचालक कृष्णबहादुर विश्वकर्मालाई प्रहरी पक्राउ गरेको छ । अहिलेको हत्यापछि चोरी भएका गहना खरिद गरेको आरोपमा यसअघि नै खलंगाको माथिल्लो बजारको राप्ती चुनचाँदी पसलकी शोभाकुमार सुनारी सोनीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update