आफ्नै घरमा मृत फेला परेकी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेकी ५२ वर्षिय हस्तकली बुढाथोकीको हत्या भएको प्रहरीले खुलासा गरेको छ । बुढाथोकीको शुक्रबार राती आफ्नै घरमा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव फेला परेको थियो । सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले बुढाथोकीको हत्या भएको जानकारी गराउदै दुई जना महिलालाई सार्वजनिक गरेको थियो ।
जिल्ला प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बुढाथोकीको कन्चटमा ढुंगाको लोरो प्रहार गरी हत्या गरिएको बताउनुभयो । ‘बुढाथोकीको टाउकोमा लोरो प्रहार भएको पाइयो, उक्त लोरो घटनास्थलबाट बरामद गरिएको छ, लोरोले कन्चटमा हानेका कारण मुख र कानबाट रगत बगेको थियो,’ उहाँले भन्नुभयो । हस्तकलीको हत्यामा संलग्न भएको भन्दै सल्लेकै २३ वर्षिया सिर्जना बुढा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटना गहना चोरीका लागि भएको डिएसपी भट्टराईले बताउनुभयो । मृतकबाट चोरी गरिएका गहना खरिद गरी प्रमाण नष्ट गर्न सहयोग गरेको भन्दै प्रहरीले मुसिकोट खलंगामा सुन चाँदी व्यवसाय गर्दै आएकी मुसिकोट ५ टटेला बस्ने ३० वर्षिया शोभाकुमार सुनार सोनीलाई पनि पक्राउ गरी मुद्दा चलाएको छ ।