Kakhara सबैको खबर सम्पूर्ण खबर
५ वर्ष अघि नै शंकाको घेरामा थिइन सिर्जना, दुई दिन हिरासतमा समेत राखिएको थियो 

रुकुम पश्चिमको मुसिकोट नगलपालिका वडा नम्बर १ सल्लेकी दुई महिलाको हत्या आरोप लागेकी सल्लेकै सिर्जना बुढा बोहरा ५ वर्ष अघि नै प्रहरीको शंकामा थिइन । प्रहरीले दुई पटक गरेर दुई दिन हिरासतमा समेत राखेको थियो । तर ठोस प्रमाण नभेटिएपछि उनी उम्किएकी थिइन् । ‘घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा शंकास्पद देखिएपछि त्यतिबेला दुई पटकमा गरेर दुई दिन हिरासतमा राखिएको देखिन्छ, जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले भन्नुभयो–तर ठोस प्रमाण नभेटिएपछि उम्केको देखियो ।’ यो पटक भने ठोस प्रमाण सहित पक्राउ गरिएपछि ५ वर्ष अघिको घटना पनि खुलेको उहाँको भनाई छ ।

सिर्जनाले त्यतिबेला केही दिन जिल्ला प्रहरी कार्यालयमा तारेख समेत थामेकी थिइन् । त्यतिबेला उनको सानो बच्चा रहेको र १८ वर्षकी उनले हत्या गर्न सक्ने विषयमा शंका गर्ने अवस्था नरहेको तथा प्रमाण समेत नभेटिएपछि उनी प्रहरीको निगरानीबाट टाढिएकी थिइन । त्यतिबेला आफु पक्राउ नपरेपछि त्यसकै बलमा अहिले आएर दोस्रो हत्या गरेको प्रहरीको निष्कर्ष छ । ‘हत्या गरेपनि प्रहरीले पक्राउ गर्न सक्दो रैनछ भन्ने आत्मबल उनीमा देखियो, डिएसपी भट्टराईले भन्नुभयो–त्यसकै बलमा अहिले आएर दोस्रो हत्या गरेको देखियो ।’  

एकल महिलालाई टार्गेट 
सिर्जनाको मान्छेसंग घुलमिल हुने राम्रो क्षमता छ । उनी जो सुकैसंग पनि मिलाएर कुरा गर्न माहिर रहेको स्थानीयको भनाई छ । यद्धपि उनको गाउँमा राम्रो रेकर्ड भने थिएन । चोरी तथा आर्थिक लेनदेनमा उनको संलग्नता देखिन्थ्यो । उनले एकल महिलाहरुलाई टार्गेटमा पार्ने गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएका, एक्लै बस्दै आएका महिलाहरुसंग सामिप्यता बढाउने, घरसम्मै आउजाउ गर्ने र त्यसपछि हत्या गरेर चोरी गर्ने गरेको प्रहरी बताउँछ । दुवै घटनामा सिर्जनाले सुरुमा हत्या गरिएका महिलासंग सामिप्यता बढाएको, दैनिक भेटघाट तथा काममा सरसहयोग गरेको र अन्तत् हत्या नै गरेर चोरी गरेको प्रहरीको भनाई छ । आफ्नो मिसन पुरा गर्न उनले एकल महिलालाई टार्गेट बनाउने गरेको देखिएको डिएसपी भट्टराईले बताउनुभयो । 

चोरीका लागि हत्या 
दुवै घटना चोरीकै लागि भएको प्रहरीले जनाएको छ । ५ वर्ष अघि भएको हत्या पनि चोरीकै लागि भएको खुल्न आएको डिएसपी भट्टराइले बताउनुभयो । उहाँका अनुसार त्यतिबेला सिर्जनाले आइतीको हत्या गरी सुनको कानबाली चोरी गरेकी थिइन । सिर्जनाले ५ वर्षपछि हस्तकलीको हत्या पनि सुनकै लागि गरेको प्रहरीको भनाई छ । सिर्जनाले हस्तकलीको घरबाट सुनको सिक्रि, चन्द्रमा, एक जोडा कानबाली, लकेट चोरी गरी खलंगाको एक सुनचाँदी पसलमा बिक्रि गरेकी थिइन् । ५ वर्ष अघि पनि सिर्जनाले हत्या गरी चोरी गरेका सुन खलंगाकै एक सुनचाँदी पसलमा बिक्रि गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

त्यसबेला उक्त सुन खरिद गरेको आरोपमा प्रहरीले खलंगाको तल्लोबजारमा रहेको नारायणी सुनचाँदी पसलका संचालक कृष्णबहादुर विश्वकर्मालाई प्रहरी पक्राउ गरेको छ । अहिलेको हत्यापछि चोरी भएका गहना खरिद गरेको आरोपमा यसअघि नै खलंगाको माथिल्लो बजारको राप्ती चुनचाँदी पसलकी शोभाकुमारी सुनार सोनीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update