रुकुम पश्चिमको जेठो विद्यालय त्रिभुवन जनता मावि मुसिकोटका कर्मचारी आन्दोलित भएका छन् । लामो समय देखि तलब नपाएको भन्दै विद्यालयले स्थायी गरेका कर्मचारीहरू आजबाट आन्दोलित भएका हुन् । उनीहरूले प्रधानाध्यापक गोपीराम केसीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । भने प्रअकाे कार्यकक्ष अघि धर्ना बसेकाे छन् । ५ जना कर्मचारीहरू विगत लामो समय देखि तलब नपाएको भन्दै आन्दोलित भएका हुन् ।
गैर कानुनी रूपमा संविधानमा व्यवस्था गरेको मौलिक हक तथा श्रम ऐन विपरीत पारिश्रमिक नदिएको भन्दै आफूहरू आन्दोलित भएको आन्दोलित मध्येका एक जयराम थापाले बताउनुभयो । गत वर्षको मंसिर महिना देखि तलब नपाएको आन्दोलित कर्मचारीहरूले बताएका छन् । आफूहरूले पाउनुपर्ने लाखौँ पारिश्रमिक नपाएको थापाले बताउनुभयो ।
बारम्बार आफूहरूले पारिश्रमिकको माग गरेको र कुन नियम अनुसार आफूहरूको पारिश्रमिक रोकिएको हो भनेर लिखित जानकारी माग्दा पनि कुनै जानकारी प्राप्त हुन नसकेकोले बाध्य भएर आन्दोलित हुनुपरेको उहाँको भनाई छ । विद्यालयका प्रअ केसीले श्रमिकलाई अनिर्णयको बन्दी बनाएको, विद्यालयमा द्धेध चरित्र देखाएको आरोप लगाउँदै प्रअ केसीको असक्षमताका विरुद्ध आफूहरू आन्दोलित बनेको आन्दोलित कर्मचारीहरूको भनाई छ ।
पारिश्रमिक नपाउँदासम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको अडान छ । आफूहरूले बारम्बार विद्यालयको बैठकमा आवाज उठाइरहेको र पछिल्लो पटक विद्यालय व्यवस्थापन समितिको बैठकमा यसबारेमा छलफल गर्ने आश्वासन दिए पनि बुधवार बसेको विद्यालय व्यवस्थापन समिति बैठकमा यो विषयमा कुनै छलफल नै नभएपछि आफूहरू आन्दोलित हुनुपरेको उनीहरूको जिकिर छ ।
विद्यालयका प्रशासनिक अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर केसी सहित रमा शाह, डमरबहादुर महत र दुर्गबहादुर खड्का आन्दोलित हुनुभएको हो । उनीहरूले आफूहरूको आन्दोलनमा सहयोग गर्न शिक्षक तथा विद्यार्थीहरूलाई समेत आग्रह गरेका छन् भने नगरपालिका, राजनीतिक दल, प्रशासन, प्रहरी, शिक्षा विकास लगायतको ध्यानाकर्षण पनि गराएका छन् ।
यता विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले तलबका लागि विद्यालयसँग कुनै स्रोत नभएको बताउनुभयो । आफूले विद्यालय व्यवस्थापन समिति तथा नगर सरकारबाट भएका निर्णय र परिपत्रको पालना गरेको र आफ्नो यसमा कुनै नियत नभएको उहाँको भनाई छ । ‘उहाँहरू अदालत जानुभयो, अदालतले उहाँहरूले माग गरे बमोजिम अन्तरिम आदेश गर्यो, तर विद्यालयसँग कुनै स्रोत नै छैन, स्रोतको व्यवस्थापन हुनुपर्यो म अहिले नै तलब खुवाउन तयार छु, उहाँले भन्नुभयो ।’
यो आन्दोलनले नजिकिएको विद्यालयको वार्षिकोत्सवका साथै शिक्षकहरूको बढुवा सिफारिस प्रभावित भएको उहाँको भनाई छ । ‘अहिले विभिन्न तहको शिक्षक बढुवाको लागि आवेदन खुलेको छ, यसको अन्तिम मिति ३० गते छ, हाम्रो स्कुलबाट बुढुवामा समेटिने शिक्षकहरूको सङ्ख्या धेरै छ, उहाँहरूको सिफारिस प्रभावित भएको छ, प्रअ केसीले भन्नुभयो–अर्को तिर नजिकै आएको विद्यालयको वार्षिकोत्सव समेत प्रभावित हुने देखिएको छ, यो सिङ्गो विद्यालयका लागि राम्रो होइन ।’
साथै उहाँले यो समस्याका बारेमा विद्यालय व्यवस्थापन समितिको बुधवारको बैठकमा घनिभूत छलफल भएको र समस्या समाधानका लागि वडा नम्बर १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द र विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले पहल गर्ने निर्णय हुँदा हुँदै विद्यालय बन्द गर्ने कार्य गलत भएको उहाँले बताउनुभयो ।
आर्थिक स्रोत नभएको र नियम विपरीत भर्ना गरिएको भन्दै विद्यालयले २०८० कार्तिक १४ गते प्रशासनिक अधिकृत जयराम थापालाई जिम्मेवारी मुक्त गरेको थियो भने लेखापाल ठकबहादुर बुढाथोकीलाई अवकाश दिएको थियो । साथै अन्य कर्मचारीलाई स्थायीबाट करारमा झारेको थियो । यसका विरुद्धमा उनीहरू उच्च अदालत सुर्खेत गएका थिए । अदालतले उनीहरूको पक्षमा २०८० फागुन ९ गते र २०८१ को वैशाख ३० गते अन्तरिम आदेश दिएको थियो । त्यसपछि उक्त कर्मचारीहरू विद्यालयको काममा फर्किएका थिए ।
- त्रिजमाविका २ कर्मचारीलाई अवकाश, केही स्थायीबाट करारमा, सहायक प्र.अ. केसी जिम्मेवारी मुक्त
- त्रिजमाविका कर्मचारीलाई अवकाश दिने निर्णय कार्यान्वयन नगर्न उच्चको अन्तरिम आदेश
- अख्तियारको छानबिनमा त्रिजमावि
- विव्यस अध्यक्ष केसीलाई कारबाही गर्न त्रिजमाविका बहुमत शिक्षकको माग
- त्रिजमाविको विव्यस मुसिकाेट नगरपालिकाद्वारा विघटन
- उच्च अदालतको अन्तरिम आदेश-नरेन्द्र केसीलाई त्रिजमाविकाे विव्यस अध्यक्षका रुपमा काम गर्न दिनु
- त्रिजमाविको सामाजिक लेखापरीक्षण कार्यक्रम स्थगित
- त्रिजमाविको निमित्त प्रअ नियुक्ति विरुद्धको रिट खारेज